सहचालक बनाएर ल्याइन्छन् बिहारबाट श्रमिक

जनपत्र
११ भाद्र २०७७, बिहीबार १२:०८

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको हुकुम फुडले पहिलो चरणको लकडाउन खुलेपछि आफ्ना कामदार फ्याक्ट्रीमा ल्यायो ।

आटा, मैदा र पिठोका परिकारहरु उत्पादन गर्ने उद्योगको कच्चा पदार्थ भारत र तराईका जिल्लाबाट काठमाडौंको फ्याक्ट्रीसम्म आउँथ्यो । खाद्यान्न उद्योग भएकाले सरकारले उद्योग चल्न दिएको थियो भने खुकुलो लकडाउनमा उद्योगबाट राम्ररी काम भएको थियो ।

एकाएक उद्योगका सवारी चालकलाई कारोनाको लक्षण देखियो । परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भयो । लगत्तै ती चालकका परिवारको परीक्षण गर्दा परिवारका सबै व्यक्तिमा संक्रमण देखियो ।

चालकको कन्ट्याक्ट ट्रेसिङ भइनसक्दै उद्योगका कामदारमा पनि कोरोनाको लक्षण देखियो । सबै कर्मचारीको पीसीआर परीक्षण गर्दा सात जना श्रमिकमा कोरोना पुष्टि भयो । यो घटना तीन साताअघि काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्रको हो ।

गहुँ बोक्ने ट्रकको खलासी बनेर काठमाडौं

एकै उद्योगका चालकदेखि अन्य सबै कर्मचारीलाई कोरोना देखिएपछि गरिएको खोजमा पत्ता लाग्यो– चालकबाहेकका सात श्रमिक भारतको बिहारबाट लुकीछिपी काठमाडौं आइपुगेका रहेछन् ।

उद्योग सञ्चालन गर्न कर्मचारी अभाव भएपछि सञ्चालकले लुकाइछिपाइ भारत र तराईका जिल्लाबाट कर्मचारी ल्याएको पाइएको ती उद्योगहरुको नियमनकारी संस्था औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

‘तराईबाट आउने उद्योगको कच्चा पदार्थ गहुँ बोक्ने गाडीमा खलासी बनाएर भारतबाट संक्रमित भित्र्याएको र सोही सिलसिलामा चालक, उनको परिवार र उद्योगका अन्य कर्मचारी संक्रमित भएको पाइयो,’ लिमिटेडका एक अधिकारीले अनलाइनखबरसँग भने ।

सरकारी असहयोग

बालाजु औद्योगिक क्षेत्रमा ११७ वटा उद्योगहरु छन् । औद्योगिक कच्चा पदार्थदेखि अतिआवश्यक खाद्यान्न उत्पादन गर्ने उद्योगहरु यसै हातामा छन् ।

एउटा उद्योगका अधिकांश कर्मचारी संक्रमित भएपछि नमूनाको रुपमा कोभिड परीक्षण गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिए पनि सुनुवाइ नभएको औद्योगिक क्षेत्र उद्योगी महासंघले जनाएको छ । ‘औद्योगिक क्षेत्रमा त्रास फैलिएपछि उद्योग चल्ने वातावरण बनाउन हामीले परीक्षण माग ग¥यौँ तर सहयोग भएन,’ महासंघका अध्यक्ष देवराज तामाङले भने ।

ढिलै गरी भए पनि वडा कार्यालयको समन्वयमा एक सय किटबाट गरिएको परीक्षणमा संक्रमित फेला नपरे पनि पछिल्लो समय केही श्रमिकमा पुनः संक्रमण पाइएको तामाङले बताए । औद्योगिक क्षेत्रभित्रको बोटलर्स नेपाल र पूजा इन्टरनेश्नलका श्रमिकमा संक्रमण भेटिएको उनले बताए ।

…बरु तलब चाहिँदैन

औद्योगिक क्षेत्रभित्र लुकाइछिपाइ भित्र्याइएका श्रमिकका कारण जोखिम बढेपछि अन्य श्रमिक काम छाडेर हिँडेको औद्योगिक क्षेत्र उद्योगी महासंघले जनाएको छ । ‘बरु पैसा चाहिँदैन, जोखिममा काम गर्दैनौं भन्दै श्रमिकहरु हिँडे, लुकिछीपि आएका श्रमिक पनि दिनभरी उद्योगमा र राति कोठामा जान्छन्, हाम्रै उद्योगीले हामीलाई डुबाए,’ महासंघका अध्यक्ष तामाङले भने, ‘लुकेर आएकै श्रमिकले उद्योगबाट समुदायमा कोरोना पुर्‍याए, न उद्योग बच्यो न समुदाय ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*