गौहत्याका आरोपीलाई छुटाउन प्रहरीमाथि आक्रमण, गोली चल्दा एक जनाको मृत्यु

जनपत्र
११ भाद्र २०७७, बिहीबार ०६:५१

झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्याका आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको निधन भएको छ। घाइते ३८ वर्षीय सरिकुल आलमलाई उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटलमा भर्ना गरिएकामा बुधबार राति ९ बजेतिर मृत्यु भएको हो । आलमको पेटमा गोली लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार हिजो अपराह्न गोरु काटेका आरोपमा प्रहरीले स्थानीय दुई व्यक्तिलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय कुमरखोदमा राखेको थियो । साँझ ती व्यक्तिलाई जिल्लामा लैजाँदै गर्दा इप्रकाभन्दा तीन किलोमिटर उत्तर बाटामा पर्ने कामाटोली बजारमा स्थानीयवासीको उत्तेजित समूहले ढुङ्गामुढासहित प्रहरीमाथि हातपात गरेको थापाले बताए।

प्रहरीको गाडीको चाबीसमेत खोसेर स्थानीयवासीको एउटा समूहले प्रहरीमाथि हातपात गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाइएको छ । सम्झाउँदा नमानेपछि प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेको तर झन् उत्तेजित भएर प्रहरीमाथि नै हातपात हुन थालेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*