सिन्धुपाल्चोकमा पहिरोको त्रास कायमै, ६२ घर उच्च जोखिममा
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरु पहिरोको जोखिममा परेका हुन् । पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाध्यक्ष रामकुमार थापाले जानकारी दिए।
पहिरो मुनी धुसेनी गाउँ छ भने पहिरोमाथि सुन्दरडाँडा गाँउ छ । वडाध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेका छन् ।
बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ । अहिले तत्कालका लागि स्थानीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ । गाउँका सबै घर छोडेर सुरक्षित मैदानमा गएर बसेका छन् । गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको बोहराले बताए। स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको वडाध्यक्ष थापाले जानकारी दिए।रासस






