सम्पर्कमा नआएका विद्यार्थी खोज्दै त्रिवि, वैकल्पिक विधिबाट पढाइ र परीक्षाको तयारी

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले सम्पर्कमा नआएका विद्यार्थीको खोजी गरिदिन सार्वजनिक आह्वान गरेको छ । कोरोना भाइरसको महामारी तत्काल कम हुने सम्भावना कम भएको निष्कर्ष निकाल्दै त्रिविले विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पढाइरहेको छ ।
त्रिविका सम्पूर्ण विभाग, क्याम्पस प्रशासन, डीन कार्यालयहरू समेतलाई विद्यार्थीलाई सम्पर्कमा ल्याउने कार्यमा तदारुकतासाथ लागि पर्न र विद्यार्थीलाई सम्पर्कका लागि सहज वातावरण मिलाउन समेत शिक्षाध्यक्ष भुसालले आग्रह गर्नुभएको छ ।
त्रिविले रोकिएका परीक्षा असोजभित्र लिने तयारी गरेकाले पनि विद्यार्थी खोजिरहेको छ । महामारीलाई तुरुन्तै नियन्त्रणमा लिने स्थिति नरहेको आँकलन गरी विश्वविद्यालयले चैतको तेस्रो हप्तादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको इमेल आईडी तयार गर्दे अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको जनाएको छ ।
तर अहिलेसम्म पनि कतिपय विद्यार्थीहरू आफू अध्ययनरत विभाग तथा क्याम्पसहरूको सम्पर्कमा नआएकोले पठनपाठन तथा स्थगन गरिएको परीक्षा व्यवस्थापन गर्न समस्या भएको छ ।