८ दिनमा १८ उडानलाई अनुमति

जनपत्र
८ भाद्र २०७७, सोमबार १९:५९

काठमाडौँ — होटल क्‍वारेन्टाइनको अभाव देखाउँदै गएको मंगलबार स्थगन गरिएको पाँचौं चरणको ४० वटा मध्ये १८ वटा उद्धार उडान हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार ८ दिनका लागि १८ वटा उडानलाई अनुमति दिएको सूचना जारी गरेको छ ।

नयाँ तालिका अनुसार, विदेशी वायुसेवाले मंगलबारदेखि नै उद्धार उडान गर्दै छन् भने नेपाली वायुसेवा कम्पनीहरु हिमालय एयरलायन्स र नेपाल वायुसेवा निगमले बिहीबारदेखि उद्धार उडान थाल्ने छन् ।

मन्त्रालयले नेपाल वायुसेवा निगमलाई रियाद, क्‍वालालम्पुर, दुबई, कतार र कुवेतबाट नेपाली नागरिकहरु उद्धार गर्न अनुमति दिएको छ । त्यस्तै हिमालय एयरलायन्सलाई दमाम, क्‍वाललम्पुर, आबुधाबी र दोहाका लागि उडान गर्न अनुमति दिएको छ ।

त्यस्तै, ८ वटा विदेशी वायुसेवा कम्पनीलाई पनि नेपालीको उद्धार गर्न अनुमति दिइएको छ । जसअनुसार, एयर अरेबियालाई सारजाहा, इथिहादलाई आबुधाबी, फ्लाई दुबईलाई दुबई, टर्किस एयरलायन्सलाई इस्तानबुल, कतार एयरवेजलाई दोहा, सिल्क एयरलाई अष्ट्रेलिया, कोरियन एयरलाई कोरिया र मालिन्दो एयरलाई मलेसियाकालागि उडान अनुमति दिइएको छ ।

मन्त्रालयले काठमाडौंमा क्‍वारेन्टाइनको अभाव देखाउँदै युरोप र अमेरिकाबाट यात्रु ल्याउने टर्किस र कतार एयरवेजलाई प्रति उडानमा सय जना भन्दा बढी यात्रु नल्याउन सीमा तोकिदिएको छ । यस्तो सीमा पहिलोपटक जारी भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*