उपत्यकामा भदौ १५ सम्म निषेधाज्ञा लम्ब्याउन सुझाव

जनपत्र
८ भाद्र २०७७, सोमबार १८:४०

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउन जिल्ला प्रशासनलाई सुझाव दिइएकाे छ।

उपत्यका नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले संक्रमणको अवस्था अझै कम नभएको निष्कर्ष निकाल्दै निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय गरेको हो।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले निषेधाज्ञालाई केही समय थप गर्न जिल्ला प्रशासनलाई सुझाव दिँदै पिसिआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाइएको बताए।

यसअघि भदौ ४ देखि लागू भएको निषेधाज्ञाको अवधि १० गते राति १२ बजेसम्म तोकिएको थियो।

निषेधाज्ञाको अवस्थामा उपत्यका बाहिरबाट कोही पनि नआएकाले संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्दा संक्रमणको अवस्थालाई नियन्त्रणमा लिन सकिने शाक्यले बताए।

‘अहिले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परीक्षण नभएकाले स्वास्थ्य मन्त्रालयको टिमसँग समन्वय गरी क्लोज कन्ट्याक्टमा रहेका सबैको एकपटक परीक्षण गर्ने निर्णय भएको छ’ उनले भने।

त्यस्तै उपत्यकाका स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको छ।

मध्यपुर थिमी नगरपालिकाका प्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*