कोरोनाको जोखिम सम्बन्धी धुम्रपानकर्ताहरुले जान्नैपर्ने तथ्य

जनपत्र
७ भाद्र २०७७, आईतवार ०६:०५

धुम्रपानले विभिन्न तरिकामा संक्रमणको जोखिम बढाउने हुनाले नै स्पेन, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बेलायतसहित थुप्रै देशले सार्वजनिकस्थलमा धुम्रपान गर्नमा प्रतिबन्ध लगाइसकिएका छन् । बेलायतमा मात्र कोभिड महामारी सुरु भएदेखि १० लाख भन्दा बढी मानिसहरुले धुम्रपान छाडिसकेको सर्वेक्षणले देखाएको छ । यसअघि डब्लूएचओले पनि धुम्रपानको बानी छुटाउन अहिले सबैभन्दा उपयुक्त समय भएको बताएको हो ।

यसबीच धुम्रपानलगायत तम्बाकूजन्य पदार्थ सेवन गर्ने बानी भएकाहरुले कोरोनाको जोखिम सम्बन्धी थाहा पाइराख्नुपर्ने केही तथ्य र प्रश्नहरुको विश्व स्वास्थ्य संगठनले विस्तृतमा जवाफ दिएको छ । धुम्रपानकर्ताहरु अन्यको तुलनामा संक्रमित हुने जोखिम बढी हुन्छ, कसरी रु विश्वभरका वैज्ञानिकहरुले तयार गरेका विभिन्न किसिमका रिसर्च र अध्ययनहरुमा तम्बाकूजन्य पदार्थ– चुरोट, पाइप, सिगार, हुक्कालगायत सेवन गर्ने व्यक्तिहरु कोरोना भाइरसप्रति केही बढी संवेदनशील हुने गरेको देखिएको छ । किनकि पहिलो कुरा त कुनै पनि किसिमले धूम्रपान गर्दैगर्दा यसले फोक्सोको क्षमता घटाइरहेको हुन्छ ।

यसले हामीमा स्वासप्रश्वाससम्बन्धी रोग लाग्ने खतरा स्वतः बढाइदिन्छ र कोभिड–१९ फोक्सोमै हमला गर्ने संक्रामक रोग भएको हुँदा धुम्रपान गर्नेहरु कोरोना संक्रमित भएमा, उनीहरु गम्भीर बिरामी पर्ने वा मृत्यु हुने सम्भावना बढी हुन्छ । दोस्रो कुरा धुम्रपान गर्दैगर्दा मास्क खोल्ने, लगाउने गरिरहनुपर्ने भएकाले यसले पनि भाइरस फैलने जोखिम बढाउँछ ।

भेप वा इ–सिग्रेट प्रयोग गर्नेहरुमा कत्तिको गम्भीर असर पर्दछ ?

इलेक्ट्रोनिक सिगरेट र कोभिड–१९ बीचको सम्बन्धबारे अहिलेसम्म कुनै प्रमाण फेला पारिएको छैन । तर हालसम्म पुष्टि भएका तथ्यहरु हेर्दा इ–सिगरेटमा हुने केमिकलले विशेषगरी मुटु र फोक्सोलाई हानि पुर्याउँछ भन्ने पत्ता लागेको छ । र कोभिड–१९ ले स्वास प्रस्वास प्रणालीलाई नै शिकार बनाउने हुँदा अवस्य पनि गम्भीर बिरामी हुने जोखिम तुलनात्मक रुपमा बढ्न जान्छ । त्यस्तै इ–सिगरेट हातबाट मुखसम्म लैजाँदै गर्दा त्यसबाट पनि संक्रमण हुने खतरा हुन्छ ।

धुँवारहित तम्बाकू सेवन गर्नेहरुमा चाहिँ केकस्तो असर गर्छ ?

धुँवा रहित तम्बाकू जस्तै सूर्ति लगायत चबाउँदा मुखबाट अधिक मात्रामा र्याल र थुकका छिटाहरु निस्कने हुनाले भाइरस सजिलै अर्को व्यक्तिमा सर्न सक्छ । त्यस्तै सेवन गर्ने क्रममा किटाणुहरु हातबाट मुख हुँदै शरीर भित्र पुग्न सक्छन् ।

डब्लूएचओले तम्बाकूजन्य पदार्थ सेवन गर्नेहरुलाई के सुझाव दिएको छ ?

विश्व स्वास्थ्य संगठन, डब्लूएचओले स्वस्थ रहन र सबै किसिमका जोखिमहरुबाट बच्ने सबैभन्दा उपयुक्त उपाय तम्बाकू छाड्नु नै रहेको बताउँदै आएको छ । किनकी नियमित धुम्रपान गर्ने व्यक्तिमा यसलाई छाडेको २० मिनेटमै मुटुको दर सामान्य हुने अनि रक्तचाप कम हुँदै जाने हुन्छ । यसरी खान छाडेको १२ घण्टामा व्यक्तिको रगतनलीबाट कार्बन मोनो अक्साइडको स्तर सामान्य अवस्थामा पुग्छ र २ देखि १२ हप्तासम्म कुनै पदार्थ सेवन नगरे यसले रगतको बहावमा सुधार ल्याइ फोक्सोको सञ्चालन पनि बढाइदिन्छ । यसरी तम्बाकू छाडेको १ महिनापछि भने व्यक्तिमा खोकी लाग्ने, सास फेर्न कठिन हुने जस्ता समस्या उल्लेखनीय रुपमा कम भएको महसुस गर्न सकिनेछ ।

धुम्रपान छाड्नुले सो व्यक्तिका साथै आसपासका सबैको जीवन बचाउँछ । विशेषगरी बालबालिकाहरु नियमित अरुले फालेको धुँवासँग सम्पर्कमा आइरहे स्वास्थ्यमा दीर्घकालीन असर पर्न जान्छ । त्यस्तै इ–सिगरेटको प्रयोग गर्नेहरुले चाहिँ आफ्नो उपकरण अरुलाई नदिन सुझाव दिइएको छ । सुर्ति, पानगराग लगायत सेवन गर्नेहरुले पनि यतिबेला अधिक सावधानी अपनाउन जरुरी छ । विशेषगरी सार्वजनिकस्थलमा थुक्ने गरेमा भाइरस फैलने उच्च जोखिम हुन्छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*