‘नि:शुल्क हो, एकपटक पीसीआर गरौँ’ भन्ने होडबाजीले राज्यलाई आर्थिक भार मात्रै थपिन्छ : मेयर शाक्य

जनपत्र
७ भाद्र २०७७, आईतवार ०६:०३

काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘निस्शुल्क हो, एकपटक पीसीआर गरौँ’ भन्ने होडबाजीले राज्यलाई आर्थिक भार थपिने बताउनुभएको छ ।

शाक्यले सावधानी नअपनाउने तर पीसीआर परीक्षणमा मात्रै ध्यान दिने हो भने त्यसले देशको ठूलो धनराशी खर्च हुने र अर्थतन्त्रमा समेत नराम्रो असर गर्ने बताउनुभयो । पीसीआर परीक्षण कोरोना भाइरसको सङ्क्रमण रहे–नरहेको पुष्टि गर्ने अन्तिम परीक्षण मात्र भएको भन्दै यसले कोरोना रोकथाम नगर्ने उहाँको भनाइ छ ।

‘गर्नेपर्ने व्यक्ति छ भने राज्यले खोजी–खोजी परीक्षण गर्छ, तर, निस्शुल्क पाइयो भनेर र पहुँचका भरमा आशंका नै नभएका व्यक्तिले पनि पटक–पटक परीक्षण गर्ने हो भने सम्भावित सङ्क्रमितको पहुँचमा परीक्षण नपुग्ने अवस्था हुनसक्छ,’ उहाँले भन्नुभयो, ‘त्यसले राज्यलाई अनावश्यक आर्थिक बोझ मात्रै थुपार्छ ।ु

यस्तै उपत्यकाबासीले यस अघि पनि लामो समयसम्मको लकडाउनलाई पूर्ण पालना गरी सरकारलाई सहयोग गरेको स्मरण गराउँदै प्रमुख शाक्यले अझै केही सयम कष्ट सहेर भए पनि निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्नुभयो । उहाँले लकडाउन हटे पनि कोरोना अझै हटेको छैन भन्ने बुझाउन नसक्दा पुनः कोरोनाको सङ्क्रमण फैलिदै गएको भन्दै पछिल्लो समय उपत्यका भित्रिनेको संख्यामा भएको उल्लेख्य वृद्धिले सङ्क्रमणको खतरा बढेको बताउनुभयो ।

‘परीक्षण गरेर आउनेले आफू र अरुलाई पनि सुरक्षित बनाए,’ उहाँले भन्नुभयो, ‘तर, लुकिछिपी ल्याउने र आउनेले गर्दा उपत्यका अशान्त भयो ।’ मेयर शाक्यले कोरोना सङ्क्रमणबाट कसैले पनि त्रसित नहुन तर सजग रहन आग्रह गर्नुभएको छ । काठमाण्डौ महानगरपालिकाले ३२ वटै वडामा १० ओटा कन्ट्याक्ट ट्रेसिङ टोली बनाएर काम गरिरहेको पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*