नेकपा कार्यदलले के-के सुझाव दियो विवाद समाधान गर्न ?

जनपत्र
६ भाद्र २०७७, शनिबार २०:४४

काठमाडौँ — विवाद समाधान गर्न गठित नेकपाको कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सुझावसहितको प्रतिवेदन बुझाएको छ । दुई अध्यक्षको सहमतिमा गठन भएको महासचिवको नेतृत्वको ६ सदस्यीय कार्यदलले एक साता लगाएर सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

कार्यदलले बुझाएको प्रतिवेदन अध्यक्षद्वयले अध्ययन गरेपछि सचिवालयमा छलफल हुनेछ र त्यसपछि स्थायी कमिटीमार्फत निर्णय गराउने नेताहरुको तयारी छ । स्थायी कमिटीबाट निर्णय भएलगत्तै त्यसलाई कार्यान्वयनमा लैजाने ओली र दाहालको योजना छ ।

कार्यदलमा रहेका एक सदस्यका अनुसार प्रतिवेदनमा पाँच बर्ष नै सरकारको नेतृत्व ओलीले र मूलत पार्टी सञ्चालन दाहालले गर्ने गरी तत्कालको शक्तिसंघर्ष टुंग्याउने सुझाव छ । दुई अध्यक्षको कार्यविभाजन स्पष्ट पार्ने सुझावमा यसको ब्याख्या गरिएको कार्यदलका एक सदस्यले बताए ।

पार्टीभित्रको शक्ति सन्तुलनलाई ध्यानमा राख्दै बनाइएको कार्यदलले बुझाएको प्रतिवेदनले तत्कालका लागि पार्टी विवाद हल गर्ने कार्यदल सदस्यहरुको दावी छ । प्रधानमन्त्री ओलीको राजीनामाको मागलाई थाँती राख्दै स्थायी कमिटीका नियमित एजेण्डामा आधारित भएर छलफल अगाडि बढाउने सुझाव प्रतिवेदनमा रहेको ती सदस्यले बताए ।

केन्द्रीय कमिटीले तोकेको समय आगामि चैतमा नै महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने र सैद्धान्तिक तथा विवादित सबै विषय त्यहींबाट टुंगो लगाउने सुझाव पनि प्रतिवेदनमा छ । यस्तै, कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय कमिटीको बैठक बोलाउने सुझाव कार्यदलले दिएको छ ।कार्यदलका ती सदस्यका अनुसार सरकारको कामको मूल्याङ्कन र मन्त्रिमण्डल हेरफेर तथा प्रदेश र स्थानीय सरकारको काम प्रभावकारी बनाउने सुझावमा संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेरको विषय छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*