बुटवलमा कोरोना संक्रमण समुदायमा!

साउन १७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा आफैं कोरोना परीक्षण गर्न गएका दुई जना रिपोर्ट पोजिटिभ आएपछि सम्पर्कविहीन भए।
अस्पतालमा स्वाब संकलन गर्दा बुटवल अमरपथ ठेगाना लेखाएका उनीहरूको रिपोर्ट पोजिटिभ आएपछि खोजी गर्दै जाँदा एक सातापछि भारतको नौतनवामा रहेको भन्नेसम्मको जानकारी अस्पतालले पायो। उनीहरूलाई फेला पार्न सकेन।
उनीहरू बुटवल हाटबजारमा व्यापार गर्दै आएको भन्ने थाहा पाएपछि समुदायमा कोरोना संक्रमण फैलिइसकेको आशंकामा लुम्बिनी प्रादेशिक अस्पतालले परीक्षण सुरू गर्यो।
बुटवल उपमहानगरपालिकासँगको समन्वयमा साउन २२ गते विभिन्न क्षेत्रका २ सय ३८ जनाको स्वाब परीक्षण भयो।
त्यसअघि अस्पतालमा आएका शंकास्पद बिरामीको मात्र कोरोना परीक्षण गर्दै आएको अस्पतालले नमूनाको रूपमा गरेको परीक्षणमा राजनीतिक दलका कार्यकर्ता, अस्पतालकै स्वास्थ्यकर्मी तथा उनीहरूका परिवारमा कोरोना संक्रमण देखिएको पुष्टि भयो। उक्त परीक्षणको नतिजाले बुटवलमा समुदायमा कोरोना फैलिएको संकेत गरिसकेको थियो।
साउन २२ गतेसम्म बुटवलमा जम्मा २७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसयता दैनिक पाँच-सात जना हुँदै कुनै दिन ३२ जनासम्म पुगेर शुक्रबारसम्म १ सय ४४ जनालाई कोरोना संक्रमण देखिएको छ।
त्यसअघि नेपालभन्दा बाहिरबाट आएर क्वारेन्टिन वा आइसोलेसनमा बसेकामा संक्रमण देखिएकोमा त्यसयता भने घरभित्र बसेका, कार्यालयका कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, राजनीतिक कार्यकर्तामा संक्रमण पुष्टि भएको छ।
सबैभन्दा बढी संक्रमित उपमहानगरको वडा नम्बर ११ कालिकानगर र देवीनगरमा छन्। त्यहाँ शुक्रबारसम्म ५५ जनामा संक्रमण देखिएको छ। तीमध्ये अधिकांश एउटै घटनासँग जोडिएका छन्।