ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी सञ्चालन गर्ने सुझावसहित कार्यदलले बुझायो प्रतिवेदन

काठमाण्डौ – पार्टीभित्रको विवाद समाधानका लागि सुझाव पेश गर्न बनेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ६ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनबारे दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने र त्यसपछि सचिवालय बैठकमा पेश गरिने कार्यदलले जनाएको छ । प्रतिवेदनमा अध्यक्ष ओलीले पुरै ५ वर्ष सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने लगायत सुझाव समेटिएका छन् ।
विवाद समाधानका लागि सुझाव तयार पार्न भन्दै ८ दिनअघि गएको साउन ३० गते कार्यदल गठन भएको थियो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा रहेको कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी ६ जना सदस्यहरु रहेका छन् ।