लक्षण भएका २५% संक्रमितलाई अक्सिजन जरुरी

जनपत्र
६ भाद्र २०७७, शनिबार ०८:२६

काठमाडौँ — अक्सिजन दिनुपर्ने कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो समय लक्षण भएकामध्ये एक चौथाइलाई अक्सिजन दिनु परिरहेको छ । कोरोनाबाट मृत्यु हुन सक्ने जोखिम कम गर्न ‘अक्सिजन थेरापी’ मा मुख्य ध्यान केन्द्रित गर्न विज्ञहरूले सुझाएका छन् ।

कोरोना भाइरसले बूढापाकासँगै मधुमेह, निमोनिया, क्यान्सर, मुटुरोगी, गर्भवती महिलामा तीव्र गतिले अक्सिजनको मात्रा कम गरेको विज्ञहरूको भनाइ छ । ‘पहिले गम्भीर लक्षण थिएन । अहिले बिरामीमा तीव्र गतिले खोकी, ज्वरो, फोक्सोको संक्रमण, अक्सिजनको मात्रा कमी देखिन थालेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘काठमाडौंलगायत मुलुकभरमा लक्षण देखिएकामध्ये सरदर एक चौथाइलाई अक्सिजन दिइएको छ ।’

केही साताअघिसम्म ९९.७ प्रतिशत कोरोनाका बिरामीमा कुनै लक्षण थिएन । अहिले भने लक्षण भएका संक्रमित बढिरहेका छन् । ‘भाइरसले फोक्सो र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हुनाले शरीरमा अक्सिजनको स्तर कम हुन्छ,’ डा.पाण्डेले भने, ‘हाल कोरोना बिरामीलाई सबैभन्दा बढी चाहिने नै अक्सिजन हो । लक्षण देखिएका बिरामीलाई अक्सिजन दिनुपर्छ ।’ कोरोनाका बिरामी भेन्टिलेटरमा गएपछि फर्काउन गाह्रो हुने जनाउँदै उनले आवश्यक पर्नासाथ तुरुन्त अक्सिजन थेरापी दिनुपर्ने बताए । पछिल्लो समय कोरोना संक्रमितमा धेरै छिटो स्वास्थ्य अवस्था बिग्रिने देखिएकाले सजग हुनुपर्नेमा उनले जोड दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा शुक्रबार भर्ना रहेका ४५ जना कोरोना संक्रमितमध्ये ११ जनालाई अक्सिजन दिनुपरेको थियो । ‘ती ११ जनामा २४ वर्षका युवादेखि ८१ वर्षसम्मका बिरामी छन्,’ टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.अनुप बाँस्तोलाले भने, ‘अक्सिजन कमी हुने समस्या बूढापाका, दीर्घरोगीमा बढी छ तर युवालाई पनि अक्सिजन चाहिने गरेको देखिएको छ ।’ अक्सिजन चाहिएका तीन जनामा भने कुनै अन्य रोग छैन । अन्य बिरामीमा मधुमेह, उच्च रक्तचाप, दमको समस्या छ ।अस्पतालमा अक्सिजन चाहिने संक्रमितमा ४० वर्षमाथिका धेरै छन् । ६० वर्षमाथिका बिरामीलाई अक्सिजन अनिवार्य जस्तै भएको छ । ‘हामीले कोभिड उपचारमा मुख्य रूपले अक्सिजन थेरापीमा ध्यान केन्द्रित गर्नुपर्छ । हरेक स्वास्थ्य निकायमा अक्सिजन पर्याप्त उपलब्ध हुनुपर्‍यो,’ डा.बास्तोलाले भने, ‘कोभिडमा अन्य उपचार आवश्यकताअनुसार हो भने मुख्य उपाय नै अक्सिजन थेरापी हो । बिरामीको गम्भीरताअनुसार कति मात्रामा अक्सिजन दिने भन्ने निर्धारित हुन्छ ।’ उनका अनुसार कोरोना संक्रमितको स्वास्थ्य स्थिति स्थिर लागे पनि भित्रभित्रै अक्सिजन कमी भइसकेको हुन्छ । ‘अक्सिजन तीव्र गतिले कम भइरहेको हुन्छ,’ उनले भने, ‘कोरोनाबाट भएका धेरै मृत्युको कारण हाइपोक्सिमिया (अक्सिजनको कमी) देखिएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*