जो दिनभर संक्रमित बोक्छन्

काठमाडौँ — पोखरा स्थायी घर भएका धर्म रिमालले शुक्रबार बिहान ७ बजे खाजा खाए । अनि पीपीई लगाएर तयारी अवस्थामा बसे । लगत्तै नेपाल एम्बुलेन्स सेवाको कल सेन्टर १०२ मा फोन आउनेबित्तिकै कोरोना संक्रमितको व्यवस्थापनमा खटिए ।
शुक्रबार उनले पहिलो ट्रिपमा डिल्लीबजारबाट एक पुरुषलाई सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुर्याए । दोस्रो ट्रिप काठमाडौंको स्युचाटारबाट टेकु नै भयो । तेस्रो ट्रिपमा बसुन्धराको ग्रिनसिटी हस्पिटलमा उपचार गराइरहेका संक्रमितलाई टिचिङ अस्पताल पुर्याए ।
यी तीन बिरामीलाई अस्पताल पुर्याएर कोभिड संक्रमित व्यवस्थापन सेन्टर डिल्लीबजार पुग्दा साढे १ बजिसकेको थियो । पोखरामै रहेकी श्रीमतीसँग बिहान केही समय कुरा गरेर उनी संक्रमितको व्यवस्थापनमा निस्केका थिए । तीन जनालाई अस्पताल छाडेर एम्बुलेन्स निःसंक्रमित गरे । पीपीई खोले । कलसाइन अल्फा ८ भएका उनलाई खाना खाएलगत्तै बूढानीलकण्ठका संक्रमितलाई अस्पताल लैजानुपर्ने खबर वाकीटाकीमा आयो । स्वास्थ्यकर्मी र अर्का एक चालकलाई साथमा लिएर उनी त्यतातिर लागे । यसरी घरघर पुगेर संक्रमितलाई अस्पताल पुर्याउनु अहिले उनको दैनिकी हो ।
काठमाडौंमा दिनहुँ दुई सय हाराहारी संक्रमित देखिन थालेपछि स्थानीय तह र प्रशासनले बुधबार रातिदेखि निषेधाज्ञा जारी गरेका छन् । धर्म र एम्बुलेन्स सेवामा काम गर्ने उनका साथीहरू भने बिहान ७ बजेदेखि मध्यरातिसम्म संक्रमितलाई घरबाट अस्पताल पुर्याउन खटिरहेका हुन्छन् ।