मन्त्रिपरिषद्द्वारा उपत्यकामा एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन
काठमाडौँ — सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गृहमन्त्रालयका सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री युवराज खतिवडाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
समितिका अन्य सदस्यहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च तहका कर्मचारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तोकिएका सहसचिव, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकाय राजपत्रांकित प्रथम श्रेणीका पदाधिकारीहरू रहने छन् । त्यस्तै क्वारेन्टाइन रहने स्थलका स्थानीय तहका प्रमुखले तोकेका प्रतिनिधि पनि समितिको सदस्य रहने मन्त्री खतिवडाले जनाए ।
क्वारेन्टाइन व्यवस्थापन समितिको सदस्य सचिव भने गृहमन्त्रालयकै सहसचिव रहने छन् । समितिको कामकारबाही पनि मन्त्रिपरिषद् बैठकले तोकेको प्रवक्ता खतिवडा बताए । उनका अनुसार समितिले तीनवटै जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा काम गर्ने, क्वारेन्टाइन स्थलको पहिचान, सञ्चालन र व्यवस्थापन गर्ने र क्वारेन्टाइन निर्माण, मर्मत तथा अत्यावश्यक तयारी सहरी विकास तथा भवन निर्माण विभागमार्फत गर्नु पर्नेछ ।






