मकवानपुर मनहरीका बृद्ध सहित २६ जनामा कोरोना संक्रमण
हेटौंडा । मकवानपुरका एक जना सहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–५ का एक वृद्धमा कोरोना पुष्टि भएको छ। यहाँका ७४ बर्षीय एक वृद्धमा कोरोना पुष्टि भएको हो।
उहाँसंगै आज बिहान प्राप्त नतिजा अनुसार २६ जनामा कोरोना पुष्टि भएको छ । चितवनका थप २२ जनासहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा विहीवार गरिएको परीक्षणमा चितवनका ११ पुरुष र ११ महिलामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका–२, ७, १० र ११ का ८ पुरुष र ११ महिला गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब संकलन गरिएको थियो । यस्तै, राप्ती नगरपालिकाका वडा नं। २ र ८ का गरी थप ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टिनमा रहेका थिए । संक्रमण देखिएकाहरु १२ देखि ६७ बर्ष उमेर समूहका छन् ।
यसैगरी, संक्रमण पुष्टि हुनेमा नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक–एक जना छन् । नवलपुरका ४० वर्षीय पुरुषको मध्यविन्दु अस्पतालबाट स्वाब संकलन गरिएको थियो भने बाँकी तीन जनाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो । उनीहरु अस्पताल अएका बिरामी हुन् ।
चितवनमा आज २२ जना संक्रमितको संख्या ३०३ पुगेको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट चितवनमा तीन जनाको मृत्यु भएको छ भने, कैलालीका एक बिरामीको पनि चितवनमा नै उपचारको क्रममा मृत्यु भएको थियो ।






