मकवानपुरमा छैन तीजको रौनक, शिवालयहरु वन्द

जनपत्र
५ भाद्र २०७७, शुक्रबार ०७:१०

हेटौंडा । मकवानपुर जिल्लामा विगतका वर्षहरुमा जस्तो हरितालिका तीजको रौनक छैन । मकवानपुरका दश वटै स्थानीय तहमा रहेका शिवालयहरु आज बन्द छन् । बिहानै देखि पुजा गर्नका लागि भिड हुने हेटौंडाको पशुपती मन्दिर आज वन्द छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण यहाँका शिवालय मन्दिरहरु वन्द गरिएको र घरमै वसेर तीज मनाउन आग्रह गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

उपमहानगरपालिकाका  महतले कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै तीज पर्व मनाउन आग्रह गर्नुभएको छ । तीज पर्वको अवसरमा शुभकामना दिदै उहाँले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी चाड मनाउन आग्रह गर्दै यो वर्ष भेटघाट र जमघट गर्न सकिने अवस्था नभएकोले घरमै मनाउन आग्रह गर्नुभयो ।

मेयर महतले भन्नुभयो–‘हेटौंडामा जिल्लका सबै स्थानीय तहमा भन्दा धेरै कोरोनाको संक्रमण देखिएको छ । यसबाट बच्नका लागि पनि मन्दिरहरु खुल्ला नगरिएको हो । तीजलाई सबैसंग जुटेर भन्दा पनि घरमै नाचगान गरेर मनाउँदा संक्रमण फैलन सक्दैन ।’ यसअघिका तीजमा हेटौंडा बजार क्षेत्र र मन्दिरमा धेरै चहलपहल हुने भएपनि स्थानीय प्रशासनले जिल्लाभरीका सवै मन्दिरमा रोक लगाएकाले घरमै वसेर सवैले रमाइलो संग तीज मनाउँदैछन् । अहिले सबै जुटेर भेला भएर तीज मनाउनु भन्दा पनि घरघरमा बसेर मनाउँदा कोरोनाको संक्रमणबाट बच्न सकिने मेयर महतले वताउनुभयो ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । साथै पर्वका अवसरमा पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएका छन् । निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ’, उनले भने । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिनुभयो ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*