काँकडभिट्टा–इनरुवा खण्डको ट्र्याकबेड निर्माण : टेण्डर प्रक्रिया विवादित भएपछि मन्त्री नेम्बाङ परामर्शमा

जनपत्र
५ भाद्र २०७७, शुक्रबार ०६:१०

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डको ट्र्याकबेड निर्माण टेण्डर प्रक्रियामै विवादास्पद बनेपछि अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ परामर्शमा जुटेका छन् । उनले बुधवार मन्त्रालयकै कार्यकक्षमा पूर्वाधार विज्ञ, मन्त्रालयका पूर्व सचिव, प्रधानमन्त्रीका विकास सल्लाहकार र रेल विभागका महानिर्देशकसँग छलफल गरेका हुन् । आर्थिक स्रोत र जग्गा प्राप्ति सुनिश्चित नगरी सीमित निर्माण व्यवसायीलाई मात्रै लक्षित हुनेगरी काँकडभिट्टा–इनरुवा खण्डको ट्र्याकबेड निर्माणको टेण्डर आह्वान गरिएपछि अहिले यो विवादित बन्न पुगेको हो ।

बुधवारको छलफलमा विज्ञहरूले घनीभूत छलफलपछि मात्रै टेण्डर तथा निर्माण प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिएका थिए । छलफलमा उपस्थित मन्त्रालयका एक अधिकारीका अनुसार नेपालमा रेलवे सम्बन्धी नीति, पूर्वाधार निर्माण र सञ्चालन सम्बन्धी विषयमा परामर्श भएको थियो, जसमा विवादित टेण्डरको प्रसंग पनि उठेको थियो । छलफलमा रेल विभागका महानिर्देशक बलराम मिश्रले काँकडभिट्टा–इनरुवा खण्डको टेण्डरको औचित्य र निर्माण अघि बढाउने विषयमा प्रस्तुति दिएका थिए ।

उच्च अदालत पाटनले टेण्डर प्रक्रियालाई अघि बढाउन आदेश दिएपछि टेण्डर खोल्ने कार्य अघि बढाइएका बेला एक पूर्वाधार विज्ञले भने यो प्रक्रिया नै रोक्नुपर्नेमा जोड दिएका छन् । पूर्वाधार विज्ञ सूर्यराज आचार्यले अहिलेको ठेक्कापट्टाको काम रोक्न सुझाव दिए । उनले रेलवे विकासमा दीर्घकालीन सोच, एकीकृत योजना, शहरी क्षेत्रसँग कसरी रेल्वेलाई जोड्ने लगायत पक्षहरू नै स्पष्ट नभएको बताए । अहिलेले उक्त खण्डको काम जहाँ छ, त्यही रोकेर विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर०लगायत विषयहरूको मिहिन अध्ययन गरी सम्बन्धित विज्ञहरूलाई राखेर स्पष्ट गरेपछि मात्रै काम अघि बढाउन उनको सुझाव छ ।

द्रुतमार्ग समयमै सम्पन्न गर्न सेनालाई निर्देशन
यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले काठमाडौं–तराई द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । ठूलो विश्वासका साथ सरकारले सेनालाई निर्माण दु्रतमार्ग व्यवस्थापनको जिम्मा दिएकाले त्यही अनुसार व्यावहारिक कार्ययोजना बनाएर तोकिएकै समयमा आयोजना सम्पन्न गर्न उनले निर्देशन दिएका हुन् ।

बिहीवार मन्त्रालयमा आयोजनाका विषयमा छलफल गर्दै उनले आयोजना कार्यान्वयनमा देखिएका जटिलता समाधान गर्न तत्पर रहेको भन्दै काम अघि बढाउन सहकार्य सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । सेनाले उक्त आयोजना २०८०र८१ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । छलफलमा आयोजना प्रमुख महासेनानी विकास पोखरेल लगायत सहभागी थिए । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*