विद्युत प्राधिकरणको नेतृत्वका लागि दौडधुप

जनपत्र
४ भाद्र २०७७, बिहीबार ०९:१५

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७३ भदौ २९ गते कार्यकारी निर्देशक भएर देशलाई लोडसेडिङमुक्त बनाउन भूमिका खेलेका घिसिङको ४ वर्षे कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ ।

प्राधिकरणका वर्तमान र पूर्वअधिकारीहरुसँगै अन्य सरकारी अधिकारी पनि घिसिङले छाड्न लागेको कुर्सीको दौडमा छन् । कतिपय दावेदारले प्रधानमन्त्री निकटका नेताहरुसँग भेटघाट बढाएका छन् ।

सरकारले पुनः जिम्मेवारी दिए थप एक कार्यकाल प्राधिकरण हाँक्न घिसिङ आफैं पनि इच्छुक छन् । लोडसेडिङ हटाएपछि प्राधिकरणसामु आएका ठूला चुनौतीहरुको विश्लेषण गरेर सरकारले जिम्मेवारी दिए आफू कार्यकाल दोहो¥याउन तयार रहेको घिसिङले बताउने गरेका छन् ।

यद्यपि, प्राधिकरणमा भित्रिने जोडबलमा लागेका उमेदवारहरु हेर्दा घिसिङको दोहोरिने सम्भावना न्युन रहेको पछिल्ला चलखेलका जानकारहरु बताउँछन् ।

हुनपनि, विद्युतको नेतृत्वमा आउन पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञावाली नै लागिपरेको चर्चा अझै सेलाइसकेको छैन । हुन त यसबारे समाचारहरु आएपछि उनले आफू त्यो दौडमा नरहेको भन्दै समाजिक सञ्जालमार्फत खण्डन गरेका छन् ।

उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि आवेदन दिएर अन्तरवार्ताका लागि छानिइसकेपछि ‘प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा अनुसार’ पछि हटेका थिए ।

लगानी बोर्डमा सुशील भट्ट र विद्युत प्राधिकरणमा ज्ञवालीलाई नियुक्त गर्ने गरी मिलाइएको चर्चा थियो । सामाजिक सञ्जालमा भने ज्ञवालीले त्यसलाई नकारेका छन् । विद्युत प्राधिकरणमा नियुक्तिका लागि उनको लबिङ भने नरोकिएको नेकपा स्रोत बताउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*