मालीका राष्ट्रपतिलाई सेनाले राजीनामा दिन लगाएकोमा राष्ट्रसंघको निन्दा
काठमाण्डौ – अफ्रिकी देश मालीका राष्ट्रपतिलाई सेनाले जबरजस्ती पदबाट राजीनामा दिन लगाएको भन्दै संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ ।
यसअघि अफ्रिकी संघ, क्षेत्रीय नेताले पनि घटनाको निन्दा गर्दै नियन्त्रणमा लिएका सबै नेतालाई छाड्न माग गरेका थिए । अफ्रिकी संघले मालीको सदस्यता निलम्बन गरेको छ ।
सेनाले भने देशको बिग्रँदो अवस्था जोगाउनको लागि राष्ट्रपति, प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष अधिकारीलाई पदबाट हटाएको बताएको छ । उसले छिट्टै चुनाव गराएर नागरिक सरकार गठन गर्ने पनि जनाएको खबरमा उल्लेख छ ।
सुरक्षाकर्मीले राष्ट्रपति केइटा, प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष नेतृत्वलाई राजधानी बामाको नजिकै सैन्य क्याम्पमा बन्धक बनाएपछि राष्ट्रपति केइटाले राजीनामा दिनुभएको छ । उहाँले टेलिभिजनमार्फत गरेको सम्बोधनमा सरकार तथा संसद भंग गरेको घोषणा पनि गर्नुभएको थियो । साहारा मरुभूमिसम्म फैलिएको माली विश्वको सबैभन्दा गरिब देशमध्ये एक हो ।
मालीमा धेरै पटक सैनिक विद्रोह भएको छ । अहिले पनि मालीमा जिहादी आक्रमण र जातिय हिंसा रोक्नको लागि संघर्ष भैरहेको छ ।