‘आवागमन ठप्प नपारे विकराल अवस्था आउने देखेर उपत्यकामा निषेधाज्ञा गरिएको हो’
काठमाण्डौ उपत्यकामा कोभिड–१९ सङ्क्रमणको स्थिति बढ्दै गएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि मानिसहरुको आवागमन ठप्प नपारे विकराल अवस्था आउन सक्ने देखिएको भन्दै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मङ्गलबारको बैठकले बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पूर्व सावधानीको रुपमा काठमाण्डौ उपत्यकामा तत्कालै मानिसको आवागमनलाई ठप्प नपार्ने हो भने विकराल अवस्था आउन सक्ने देखिएपछि तीन वटै जिल्लाको सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० बमोजिम बुधबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्मका लागि काठमाण्डौ उपत्यका भर अत्यावश्यक सेवा बाहेकका सबै सेवासहित मानिसहरुको आवागमन समेत बन्द गर्ने गरी निषेधाज्ञा जारी गरेको हो ।






