चितवनमा कोरोना संक्रमित वृद्धाको मृत्यु
जनपत्र
२ भाद्र २०७७, मंगलवार २०:०२
चितवन । पूर्वी चितवनको खैरहनीमा कोरोना संक्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ । खैरहनी नगरपालिका-३ कि १०९ वर्षकी वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
वृद्धाको गएराति पौने एक बजे नै मृत्यु भएको उनका नाति (छोरीका छोरा) कमल पाठकले जानकारी दिए ।
१२ दिनदेखि बिरामी भएकी वृद्धाको सोमबार स्वाब संकलन गरी भरतपुर कोभिड ल्याबमा जाँचका लागि पठाइएको थियो । उनको द्रुत तरिकाबाट जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको भरतपुर कोभिड ल्याबले जनाएको छ ।
परिवारकै सदस्यबाट वृद्धामा कोरोना भाइरस सरेको अनुमान गरिएको छ ।
यसअघि चितवनमा भरतपुर महानगरपालिका-११ का एक जना र कैलालीका एक जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएको थियो ।