२३ अर्ब ८८ करोड ऋण र ४ अर्ब अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ — सरकारले एसियाली विकास बैंकबाट ऋण र नर्वे सरकारबाट अनुदान स्वीकार गर्ने निर्णय लिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले एसियाली विकास बैंकबाट २ सय मिलियन अमेरिकी डलर (करिब २३ अर्ब ८८ करोड रुपैयाँ) ऋण स्वीकार गरिएको सरकारका प्रवक्ता एवं अर्थ/संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए । उक्त ऋण सहुलियतपूर्ण रहेको उनले बताए ।
त्यस्तै, नर्वे सरकारले दिएको ३५ मिलियन अमेरिकी डलर (४ अर्ब ३८ करोड रुपैयाँ) अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको पनि मन्त्री खतिवडाले जानकारि दिए । यसरी प्राप्त ऋण र अनुदानको प्रयोग अन्तरदेशीय विद्युत् प्रशारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाका लागि प्रयोग हुने पनि उनले जानकारी दिए ।
विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको शेयर खरिद गर्नका लागि अर्थ मन्त्रालयलाई स्वीकृत दिने निर्णय पनि भएको मन्त्री खतिवडाले बताए ।