‘तपाईँको विभेदले सङ्क्रमण अझै बढ्न सक्छ, मनोबल घटाउने होइन बढाउने काम गर्नुस्’
काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि यसकाे डर बढ्न थालेको छ । डरकै कारण मानिसले जानेर वा नजानेरै पनि कोरोना सङ्क्रमितलाई विभेद गर्ने, सामाजिक बहिष्कार गर्नेसम्मका काम गर्न थालेका छन् । समाजमा कोरोना सङ्क्रमितलाई छिः छिा र दुरदुर गर्ने प्रवृत्ति बढेको छ ।
मन्त्रालयले सोमबार कोरोना सङ्क्रमितलाई विभेद नगर्न आग्रह गरेको हो । जटिल स्वास्थ्य समस्या नभएकालाई घरकै आइसोलेशनमा बस्न भनिएको र यसरी बस्नेलाई समाजमा बहिष्कार गर्ने गरेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभेद नगर्न आग्रह गर्नुभएको हो । उहाँले सङ्क्रमित व्यक्तिको घरमा पर्चा टाँस्ने जस्ता घटनाले समाजमा विकृति फैलाउने र सद्भाव घटाउने हुँदा संवेदनशील विषयमा गम्भीर हुन अनुरोध गर्नुभयो ।
समाजले विभेद गरेको देखेपछि नकारात्मक व्यवहारबाट बच्न कोरोना सङ्क्रमण भइहाले लुकाउने सम्भावना हुने र यसले झन् सङ्क्रमण फैलने खतरा हुने डाक्टर गौतमले बताउनुभयो । समाजले गर्ने नकारात्मक व्यवहारका कारण सङ्क्रमितको मानसिक अवस्था विक्षिप्त हुँदै जाने र बालबालिकामा समेत नराम्रो असर पर्ने हुँदा स्वास्थ्य मन्त्रालयले सङ्क्रमितलाई हेलाभन्दा पनि माया र सद्भाव बाँड्न आग्रह गरेको हो ।
काेरोना भाइरसको अहिलेसम्म कुनै औषधि नबनेकाेले आत्मबल र उच्च मनोबलले नै कोरोनालाई जित्न सकिने हुँदा सङ्क्रमितको आत्मबल बढाउनु पर्नेमा मन्त्रालयको जोड छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम भन्नुहुन्छ, ‘तपाईंको विभेदले सङ्क्रमण अझै बढ्न सक्छ, मनोबल घटाउने होइन बढाउने काम गरौँ, आफू पनि बचौँ अरुलाई पनि बचाऔँ ।’