गोंगबु हत्याकाण्ड : कृष्णबहादुर र कल्पनाबीचको आर्थिक पाटो खोतल्दैछ प्रहरी

जनपत्र
३२ श्रावण २०७७, आईतवार ०६:१३

काठमाडौंको गोंगबुमा कृष्णबहादुर बोहोराको हत्याकाण्डमा प्रहरीले आर्थिकलगायत अन्य पाटो खोतल्न सुरु गरेको छ । परिवारका सदस्य प्रहरीको सम्पर्कमा आएपछि आर्थिक विषयमा अनुसन्धान गर्न थप सहज हुने अनुमान प्रहरीको छ । यसअघि बोहोराले आफन्तहरुसँग ‘आफ्नो ५० लाख रुपैयाँ फसेको’ बताउने गरेको प्रहरीले जानकारी गराएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको बताए ।

आइतबार गोंगबुमा कृष्णबहादुर बोहोराको टाउको र शरीरको भाग छुट्टाछुट्टै अवस्थामा प्याकिङ गरिएको अवस्थामा फेला परेको थियो । हत्यामा संग्लन आरोपमा प्रहरीले चितवन कालिका नगरपालिका–७ घर भइ हाल टोखा नगरपालिका १० नवज्योति मार्ग बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेल र उनकी १५ वर्षीया छोरीलाई सार्वजनिक गरिसकेको छ । कल्पना मोडलिङ क्षेत्रमा समेत काम गर्दै आएको खुलेको छ ।

हत्या आफूले नै गरेको पौडेलले स्वीकार गरिसकेकी छन् । शव व्यवस्थापन गर्नका लागि छोरीको सहयोग लिनुपरेको उनले बयानमा उल्लेख गरेको भए पनि हत्यामा छोरीको संलग्नतालाई उनले अस्वीकार गरेकी छन् । प्रहरी अनुसन्धानका क्रममा कल्पना र बोरोराबीच करिब ४ वर्षदेखि चिनाजान थियो । उनीहरुबीचमा अवैध सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको प्रहरी बताउँछ ।

प्रहरी अनुसन्धानका क्रममा कृष्णबहादुर बोहोरा कल्पनाको कोठामा बेला बेलामा आइ भेट्ने गरेको पाइएको छ । बोहोराले कल्पनाको फोटो राखी फेक फेसबुक आइडी खोलेर चलाउने गरेको र त्यसमा अश्लील तस्बिरहरु पोष्ट गर्न थालेपछि आफूले हत्या गरेको प्रहरीसँगको साविति बयानमा भनेकी छिन् । यसबाहेक उनले आफ्नी छोरीमाथिसमेत गलत नजर लगाएकाले हत्या गर्नुपरेको बयान दिएकी छन् ।

तर विभत्स हत्याका पछाडि अन्य कारण पनि हुनसक्ने प्रहरी आशंका छ । जसको खोजी प्रहरीले गरिरहेको छ । मृतक बोहोराका परिवारका सदस्यबाट थप कुरा खुल्नसक्ने प्रहरी अनुमान छ । आर्थिक पाटो जोेडिएकाले हत्या भएको हुनसक्ने अनुमान गरिए पनि त्यसबारे कल्पनाले कुनै कुरा बोलेकी छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*