कोभिड-१९: सङ्क्रमणसँगै ज्यान गुमाउनेको बढ्दो ग्राफ

जनपत्र
३० श्रावण २०७७, शुक्रबार ०७:४५

काठमाण्डौ – देशमा कोभिड-१९ को सङ्क्रमणसँगै जानेको ग्राफ क्रमशः बढ्दै गएको छ ।  साउन २२ देखि २९ गतेसम्मको आठ दिनमा मात्रै कोभिड-१९ सङ्क्रमित ३५ को ज्यान गएको छ । यससँगै अहिलेसम्म ९५ जनाको ज्यान गैसकेको छ ।

कोभिड-१९ ले विगतमा फाट्टफुट्ट रुपमा मानिसको ज्यान गएकोमा साउन लागेपछि दैनिक रुपमा तीनदेखि आठ जनासम्मको ज्यान गएको छ । विश्वको तुलनामा नेपालको मृत्युदर अत्यन्त न्यून भए पनि पछिल्ला तथ्याङ्कले मृत्युदर बढ्दो देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार ज्यान गएकामध्ये ५० प्रतिशत मधुमेह, अर्बुदरोग, फोक्सो र मिर्गौलारोगी रहेको र ५० प्रतिशत भने निरोग व्यक्ति छन् ।

नेपालमा सङ्क्रमितमध्ये झण्डै शून्य दशमलव ४ प्रतिशत मृत्युदर छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड-१९ को मृत्यु दर विश्वमा तीन प्रतिशत छ । कतिपय देशमा तीन प्रतिशतमाथि पुगेको छ । तथ्याङ्क हेर्दा देशमा सङ्क्रमणसँगै मृत्युदर पनि क्रमशः बढ्दो छ । पछिल्लो एक हप्ताको विवरण केलाउँदा बढ्दो ग्राफको प्रष्ट तस्बिर पाइन्छ ।

साउन २१ देखि २८ सम्म तीन हजार २० नयाँ सङ्क्रमित फेला परे । काठमाण्डौ उपत्यकामा मात्रै एक हप्तामा ६६६ नयाँ सङ्क्रमित भेटिए । उपत्यकाका तीन जिल्लाका सङ्क्रमितमध्ये झण्डै ९० प्रतिशत काठमाण्डौ जिल्लाका छन् । यी विवरणले क्रमशः कोभिड–१९ को जोखिम उच्च वृद्धि भइरहेको देखाउँछ ।

मन्त्रालयका अनुसार अहिले देश दोस्रो तहको सङ्क्रमणमा छ । ‘निश्चित क्षेत्रमा महामारीका रुपमा कोभिड–१९ फैलिएको छ । अझै नियन्त्रण बाहिर गएको छैन’, मन्त्रालयका प्रवक्ता डा गौतमले भन्नुभयो, ‘काठमाण्डौसहित पर्सा, रौतहट र  महोत्तरी जिल्लामा कोभिड–१९ महामारीका रुपमा देखिन्छ, त्यसपछि दोस्रोमा मोरङ, बाँकेलगायत केही जिल्ला छन् ।’

उहाँले मानिसले स्वास्थ्य मापदण्ड नअपनाउँदा जोखिम बढेको बताउनुभयो । दुई मिटर दूरी कायम गरेर नियमित मास्क मात्रै लगाउने हो भने पनि ९६ प्रतिशत सङ्क्रमण रोक्न सकिने जनस्वास्थ्य विज्ञको भनाइ छ । ‘जनस्वास्थ्यको मापदण्ड नै फलो नगर्ने, भीडभाड बढाउने, टेर्दै नटेर्ने, अनि कसरी सङ्क्रमण रोक्न सकिन्छ’, डा गौतमले आक्रोशपूर्ण रुपमा भन्नुभयो ।

जोखिम बढेपछि सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्किएमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै हिँड्न भनेको छ । देशभर लकडाउन घोषणा नगरिए पनि सरकारले सङ्क्रमण रोक्न अन्तर्राष्ट्रिय सीमा नाका आवागमन रोक्नेदेखि अन्य आवश्यक निर्णय गर्दै आएको छ ।

आफ्नो सीमा क्षेत्रमा निर्णय गर्ने अधिकार पालिका र जिल्ला प्रशासनलाई दिइएको छ । यसैअनुसार कतिपय जिल्ला र पालिकाले आआफ्नै ढङ्गले जोखिम विश्लेषण गरी सिल गर्नेदेखि  निषेधाज्ञा र लकडाउनसम्मका निर्णय गर्न थालेको छ ।

एक हप्ताको सङ्क्रमण र मृत्युको अवस्था

साउन २२ देखि २८ सम्म एक हप्ताका अवधिमा मात्रै ३१ जनाले ज्यान गुमाएका छन् । बिहीबार थप चार जनाले ज्यान गुमाए । साउन २८ गते ४६४ जना नयाँ पोजेटिभ देखिँदा त्यसमा १३९ जना काठमाण्डौ उपत्यकाका थिए ।त्यसमा पनि १०९ जना काठमाण्डौ जिल्लाका भेटिए । धनुषाका दुई तथा काठमाण्डौ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक एक गरी बुधबार एकै दिन सबैभन्दा बढी आठ जनाले ज्यान गुमाए ।

अहिलेसम्म ९५ जना नेपालीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । साउन २७ गते ६३८ नयाँ सङ्क्रमित थपिएकामा उपचारका क्रममा रहेका काभ्रेपलाञ्चोक, धनुषा, सिन्धुपाल्चोकका गरी चार जनाको ज्यान गयो । काठमाण्डौ उपत्यकामा १३६ नयाँ सङ्क्रमित भेटिए ।

साउन २६ गते चार जनाले ज्यान गुमाए । त्यस दिन ३३८ नयाँ संक्रमितमध्ये ४४ जना उपत्यकाका थिए ।  साउन २५ गते ३८० जनामा देखिँदा उपत्यकाका ९२ जना थिए । त्यस दिन दुई जनाले ज्यान गुमाए । साउन २४ गते ३७८ जनामध्ये उपत्यकामा ६२ जनामा देखियो । त्यसदिन तीन जनाले ज्यान गुमाए । साउन २३ मा ४६२ जनामा देखिएको थियो । उपत्यकामा मात्रै १०६ जना भेटिए । त्यस दिन पाँच जनाको ज्यान गएको थियो थियो ।

साउन २२ गते ३७० जना सङ्क्रमित हुँदा उपत्यकामा ८७ जना थिए । त्यस दिन पनि पाँच जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । बिहीबार मात्रै ५२५ नयाँ सङ्क्रमित थपिए । अहिलेसम्म झण्डै २५ हजार सङ्क्रमित फेला परेका छन ।

उपचारपछि निको भएको दर भने आशालाग्दो छ । स्वास्थ्य मन्त्रालयकाअनुसार निको हुने दर ६८ दशमलव ५ प्रतिशत छ । अहिले सरकार परीक्षणको दायरा बढाउँदै दैनिक १० हजार जनाको पीसीआर परीक्षण गर्न सक्ने अवस्थामा पुगेको छ ।

प्रदेश नं २ मा बढी मृत्यु 

प्राप्त विवरणमा कोभिड-१९ का कारण सबैभन्दा बढी मानवीय क्षति प्रदेश नं २ मा भएको छ । अहिलेसम्मको विवरणमा प्रदेश नं २ मा ३९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यसपछि दोस्रोमा वाग्मती प्रदेशमा १८ जनाले ज्यान गुमाएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*