स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल
काठमाडौं पछि देशकै बढी चाप हुनेमध्यको एक भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । बिहीबार गरिएको नमुना परीक्षणमा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमण पुष्टि भएपछि अस्पतालको इमर्जेन्सी कक्ष सिल गरिएको हो ।
आज साँझ अस्पतालले एक सूचना जारी गरी अर्को सूचना जारी नभएसम्म आकस्मिक कक्षको सेवा बन्द हुने निर्णय गरेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज बिहीबार गरिएको परीक्षणमा भरतपुरकी २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । अस्पतालको इमर्जेन्सी कक्षमा कार्यरत थिइन । ती स्वास्थ्यकर्मीको सम्पर्कमा आएका बिरामी र अन्य स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गरिने जनाईएको छ ।
चितवनका अन्य विभिन्न अस्पतालहरुमा रहेका बिरामीमा समेत कोरोना संक्रमण देखिएपछि चितवनमा कोरोनाको जोखिम उच्च रहेको भन्दै चितवन प्रशासनले समेत सर्तक रहन आग्रह गर्दै आएको छ ।