सुनसरी–मोरङ औद्योगिक कोरिडोर : मजदूरमा कोरोना संक्रमणको पुष्टिसँगै उद्योगहरूको उत्पादन ४० प्रतिशत घट्यो
सुनसरी–मोरङ औद्योगिक कोरिडोरस्थित उद्योगमा कार्यरत मजदूरमा कोरोना संक्रमण पुष्टि भएसँगै उद्योगहरूको उत्पादन क्षमता ४० प्रतिशत घटेको छ । कोरोना सन्त्रासकै कारण सञ्चालनमा रहेका उद्योगमा मजदूर नआउँदा उत्पादनमा असर पर्न थालेको उद्योगी व्यवसायीले बताएका छन् । बढ्दो संक्रमणका कारण कोरिडोरका उद्योगहरूले आफ्नो उत्पादन क्षमता ६० प्रतिशतमा झारेका छन् ।
साउन २५ मा आफ्ना २० जनाभन्दा बढी मजदूरमा कोरोना संक्रमण पुष्टि भएपछि बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिपले केही दिनका लागि आप्mनो उत्पादन नै बन्द गरेको छ । करीब ५ सय मजदूर कर्मचारी कार्यरत यस उद्योगमा शुरूमा दुई जनामा संक्रमण देखिएको थियो । दोस्रो परीक्षणबाट उद्योगका प्रशासन प्रमुख दिवस नेपालसहित २० जनामा कोरोना संक्रमण देखिएसँगै बूढीगंगा गाउँपालिकाले उद्योग सिल गर्न निर्देशन दिएको छ ।