लक्षण देखिए पनि ३ दिनदेखि अस्पताल नपाएका संक्रमितको प्रश्न : ‘मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ ?’

काठमाडौँ — काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार गर्न तोकिएका अस्पतालका शय्या भरिएपछि सरकारले लक्षण भएकालाई पनि जबर्जस्ती घरमै राख्न थालेको छ । यसअघि चाप बढेपछि लक्षण नभएकाले घरमै आइसोलेसनमा बस्न पाउने नियम ल्याइएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्ला पाँच दिनमा २ सय ७ जनालाई घरमै आइसोलेसनमा राखिएको छ । ईडीसीडीका अनुसार उपत्यकामा साउन २२ मा ८१ जना संक्रमित देखिएकामा १४ जना घरमै आइसोलेसनमा छन् ।
यसरी घरमै बसेकामध्ये एक युवाले स्वास्थ्य मन्त्रालय र विभागका भेट्टाएजति सबै नम्बरमा फोन गरेर अस्पतालको आइसोलेसनका लागि हारगुहार गरिरहेका छन् । सिनामंगलमा भाडामा कोठा लिएर बसेका ती २७ वर्षीय युवामा संक्रमणको लक्षणसमेत छ । उनले आफ्नो अवस्था यसरी सुनाए
संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयका कर्मचारीले फोन गर्छन् र सरकारी एम्बुलेन्समा राखेर आइसोलेसन लैजान्छन् भन्ने सुनेको थिएँ ।
फोन आउला कि भनेर रातभरि कुरिरहें । न फोन आयो न त एम्बुलेन्स नै । कतैबाट फोन नआएपछि मन्त्रालयको टोल फ्रि ११३० नम्बरमा फोन गरें । आइतबार डाक्टर आएपछि फोन गर्ने जवाफ उताबाट आयो । अरू रोग भए पो
ट्याक्सी चढेर वा साथीको मोटरसाइकलमा नजिकैको क्लिनिक र अस्पताल जानु ! आफूलाई कोरोना पोजिटिभ छ भन्ने थाहा हुँदाहुँदै लुखुरलुखुर कहाँ जानु ? कोरोना लागेको थाहा पाएको रात त सुत्नै सकिएन
आइतबार पनि स्वास्थ्य मन्त्रालयबाट फोन आउला भनेर कुरिरहें । दिउँसो भइसक्दा पनि कसैले फोन गरेन । फेरि मन्त्रालयको ११३० र १११५ नम्बरमा फोन गरें । एउटा नम्बर पाएपछि कल गरेर कुरा गरें । मलाई कोरोनाको लक्षण भएको सुनाएँ ।
उहाँले अस्पतालमा बेड खाली छैन, केही दिन पर्खनुस्, बेड खाली भएपछि खबर गरौंला भन्नुभयो । तीन दिन भयो । कतैबाट खबर आएको छैन ।
सुरुमा मैले जोसँग कुरा गरेको थिएँ उहाँले पनि अर्को मान्छेको नम्बर दिनुभयो । उहाँलाई पनि मलाई सुक्खा खोकी भएको, सास फेर्न गाह्रो भएको, स्वाद थाहा नपाउने जस्ता समस्या रहेको सुनाएँ । तर अस्पतालमा बेड खाली नभएकाले भर्ना गर्न नसकिने जानकारी दिनुभयो । सोमबारसम्म पनि उहाँले फोन गरेर स्वास्थ्य अवस्था सोध्नुभयो । मलाई थप समस्या भयो भने जतिबेला पनि फोन गर्नुस् भन्नुभएको छ । तर उहाँले मेरा लागि बेड खोज्न सक्नुभएन ।
सरकारले कोरोना लक्षण भएकालाई अस्पतालको आइसोलेसनमा पठाउने गरेको समाचार हेर्छु, सुन्छु । मैले स्वास्थ्य मन्त्रालय, विभाग सबैतिर हारगुहार गरें तर मेरो समस्या कसैले सुनेनन् । यतिसम्म कि मन्त्रालयमा बारम्बार फोन गरेपछि एक जना कर्मचारीले त हिँडेर केएमसी अस्पताल जानुस्, आफ्नो समस्या सुनाउनुस् समेत भने । मलाई थाहा छ, कोरोना पोजिटिभ भएपछि जहाँ पायो त्यहाँ भर्ना लिइँदैन । उनको कुरा सुनेर रिस उठ्यो । मान्छे मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ भनेर रिसाएँ । मैले जति मान्छेलाई फोन गरें, सबैले अस्पतालमा बेड खाली छैन भन्छन् । त्यसैले आज (मंगलबार) त कसैलाई फोन पनि गरिनँ ।