हेटौंडाका १३ जना कोरोना संक्रमितलाई कहाँ राख्ने ? आइसोलेसनका कर्मचारी तनावमा

जनपत्र
२७ श्रावण २०७७, मंगलवार २०:१६

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा ३५ बेडको एउटामात्रै आइसोलेसन वार्ड छ । यही आइसोलेसनमा १ हप्ता अघिसम्म संक्रमित राख्न बेड प्रसस्तै थियो ।

तर, २५ साउनदेखि हेटौँडामा संक्रमितको संख्या ह्वात्तै बढेपछि आइसोलेसनका कर्मचारी तनावमा परेका छन् । हेटौँडामा आज मंगलबारसम्मको तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ४७ पुगेको छ । आइसोलेसन वार्डका कर्मचारीलाई संक्रमित कहाँ राख्ने भन्ने विषयमा चिन्ता बढेको छ ।

हेटौँडा–४ कर्रास्थित श्रमिक माध्यमिक विद्यालयमा रहेको आइसोलेसन वार्डमा हाल ३४ जना संक्रमित र १ जना संकास्पद व्यक्तिलाई भर्ना गरी राखिएको छ । आज मंगलबार हेटौँडाका मात्रै १३ जना नयाँ संक्रमित थपिए । ती थपिएका संक्रमितलाई कहाँ राख्ने भन्ने विषयमा आइसोलेसनका कर्मचारी तनावमा परेका हुन् ।

‘आइसोलेसनको क्षमता नै ३५ बेडको छ । हाल ३४ जना संक्रमण पुष्टि भएका र १ जना संकास्पद भर्ना गरी राखिएको छ । सक्रिय संक्रमितको संख्या ४७ पुगिसकेको छ । बाँकी १३ जना संक्रमितलाई कहाँ राख्ने रु, हामलाई तनाव भइरहेको छ’, आइसोलेसनका इञ्चार्ज भोला चौलागाईंले भने । उनले संक्रमितहरू चौरमै सुत्नुपर्ने अवस्था आएको बताएका छन् । ‘न बेड छ न कुनै व्यवस्था गरिएको छ । सबै मेरो जिम्मा छोडिएको छ । मैले कता तिर हेरौँ । १, २ जना संक्रमित हो’र १३ जना थपिए । अब उनीहरूलाई कहाँ राख्ने म तनाव भएर केही भन्न सक्ने स्थितिमै छैन्’, फोनमा कुरा गर्दै इञ्चार्ज चौलागाईंले शिलापत्रसँग गुनासो गरे । उनका अनुसार सम्बन्धित निकायले समयमै ध्यान नदिँदा यस्तो समस्या आइपरेको हो ।

आइसोलेसनले २५ गते स्वाब संकलन गरी कोरोना परीक्षण गर्न हेटौँडास्थित प्रादेशिक कोरोना प्रयोगशाला पठाएको थियो । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृतसमेत रहेका चौलागाईंका अनुसार प्रयोगशालामा आज साँझ गरिएको परीक्षणमा ९ जना पुरुष र ४ जना महिलालाई संक्रमण पुष्टि भएको हो । संक्रमित हेटौँडा–१ का ४३ बर्षीया महिला, हेटौंडा–४ की १ महिला र १ पुरुष, हेटौँडा–५ का २ महिला र २ पुरुष, हेटौँडा–१० का ४ जना पुरुष र हेटौँडा–१३ का २ पुरुष छन् ।

यता, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल भने आज कर्राको आइसोलेसनलाई हेटौँडा–६ गौरिटार रंगशालामा रहेको खेलाडी छात्राबासमा सार्ने तयारीसँगै स्थलगत निरीक्षणमा पुगेका थिए । १ हप्ता अघिदेखि नै आइसोलेसन सार्ने तयारी भए पनि हालसम्म निरीक्षणबाहेक ठोस काम नभएको चौलागाईं बताउँछन् ।

पौडेलले गौरिटार रंगशालाको छात्राबासमा आइसोलेसन छिटो स्थानान्तरण गर्न निर्देशन दिएका छन् । यसैगरी सामाजिक विकासमन्त्री युवराज दुलालले छात्राबाससँगै निर्माणको अन्तिम चरणमा रहेको कभर्डहलमा समेत संक्रमित राख्न सकिने गरी व्यवस्थापन गरिने जानकारी दिए । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आइसोलेसनको व्यवस्थापनमा जनशक्ति, आर्थिक लगायतका काममा सहयोग हुने बताए ।

विद्यालयबाट आइसोलेसन र क्वारेन्टाइन हटाइने

बागमती प्रदेशका सबै जिल्लाका विद्यालयमा सञ्चालन भइरहेका आइसोलेसन तथा क्वारेन्टाइन हटाइने भएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि प्रदेशका १३ वटै जिल्लाका सामुदायिक तथा निजी विद्यालयमा आइसोलेसन र क्वारेन्टाइन निर्माण गरिएको थियो । विद्यालयबाट हटाइएका आइसोलेसन र क्वारेन्टाइन बाममती प्रदेशमा स्थानान्तरण हुने भएको छ ।

विद्यालयबाट आइसोलेसन र क्वारेन्टाइन हटाएर अन्य स्थानमा तयार गरिने प्रदेशको कोभिड–१९ संकट व्यवस्थापन समितिले निर्णय गरेको छ । सोमबार बसेको समिति बैठकले आइसोलेसन र क्वारेन्टाइन हटाउने निर्णय गरेको हो । आजबाट उक्त निर्णयको कार्यान्वयनमा प्रदेश सरकार लागिसकेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । शिलापत्रबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*