निषेधाज्ञापछि सुनसान हेटौँडा
हेटौंडा । समुदायस्तरमै कोरोना संक्रमण फैलिन सक्ने उच्च जोखिम देखिएपछि हेटौँडामा आज मङ्गलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले २६ साउन राती १२ बजेदेखि निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञापछि बागमती प्रदेशको राजधानी हेटौँडा सुनसान बनेको छ । गत शनिबार हेटौँडामा मात्र १५ सहित जिल्लाभर २३ जना कोरोना संक्रमित थपिएपछि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरले निषेधाज्ञा गर्न सुरक्षा समितिलाई सिफारिस गरेको थियो ।
सुरक्षा समितिको बैठकले हेटौँडा उपमहानगरपालिको पूरै क्षेत्र र पूर्व-पश्चिमसँग जोडिएको मनहरि गाउँपालिकाको दयाँबायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । ३२ साउन राती १२ बजेसम्म निषेधाज्ञा गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।
हेटौँडा र मनहरि बजारका पसलहरू पूर्ण रूपमा बन्द गरिएको छ भने सवारी साधन ठप्प छन् । सर्वसाधारणको पैदल आवतजावतसमेत शून्य छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत बाक्लो संख्यामा परिचालन गरिएको छ ।
निषेधाज्ञामा औषधि उपचार र खाद्य वस्तु खरिदबाहेक कुनै व्यक्ति घरबाहिर निस्किन पाइनेछैन । एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपन्छीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासनबाट जारी भएका सवारी बास बोक्ने गाडी मात्र सञ्चालनमा आउन पाउनेछन् । खाद्यान्न पसल बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय भएको छ ।
अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसलबाहेक सम्पूर्ण पसल उक्त समयमा सञ्चालन गर्न नपाइने प्रजिअ नेपालले बताए । स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालयबाहेक सबै सरकारी तथा निजी कार्यालय, गैरसरकारी, बैंक, वित्तीय संस्था खोल्न नपाइने भएको छ । यसैगरी धार्मिक, सांस्कृतिक, सामाजिक ९विवाह, ब्रतबन्ध०लगायतका कुनै प्रकारको जमघट तथा भेला गर्न पाइनेछैन । उद्योग प्रतिष्ठानहरूले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र सञ्चालन गर्न पाउनेछन् ।
उद्योगहरूले आफ्नो परिसरभित्रै वा निश्चित स्थानमा क्वारेन्टाइन स्थापना गरी सबै कर्मचारी र मजदुरलाई क्वारेन्टाइनमा राखेर बाहिर आवतजावत नगराउने निश्चित गरेपछि मात्र सञ्चालनमा आउन पाउनेछन् । शिलापत्रबाट ।