१ लाख मेट्रिकटन खाद्यान्न किन्दै सरकार

जनपत्र
२७ श्रावण २०७७, मंगलवार ०६:१८

गएको वर्ष लक्ष्यअनुसार खाद्यान्न किन्न नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालू आर्थिक वर्षका लागि १ लाख मेट्रिक टन खाद्यान्न किन्न लागेको छ ।

चालू आर्थिक वर्षमा कम्पनीले ६० हजार मेट्रिकटन धान, २५ हजार मेट्रिकटन चामल, ५ हजार मेट्रिकटन गहुँ, २ सय मेट्रिकटन मसुरो र रहरको दाल, २ मेट्रिकटन कर्णालीको सिमी, २० मेट्रिकटन भटमास, ५० मेट्रिकटन मासको दाल, १० हजार मेट्रिक टन चिनी किन्ने भएको छ । त्यसैगरी २० हजार लिटर खानेतेल र दशैंलाई लक्षित गरी करीब ३ हजार खसीबोका गरी कुल ४ अर्ब ९ करोड ७० लाख ५१ हजार मूल्यबराबरको खाद्यवस्तु किन्न लागिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

गत आर्थिक वर्ष २०७६र७७ मा ३० हजार मेट्रिकटन धान किन्ने लक्ष्य राखे पनि करीब २२ हजार मेट्रिकटन मात्रै किन्न सकेको थियो । यसैगरी ३ हजार मेट्रिक टन गहुँ किन्ने लक्ष्य भए पनि कोरोना महामारीका कारण ५ सय ४९ हजार मेट्रिकटन मात्र गहुँ किनेको थियो भने १० हजार मेट्रिकटन चामल किन्ने लक्ष्य पनि महामारीकै कारण प्रभावित भएकाले हालै मात्र किन्नका लागि सम्झौता भएको छ ।

सुवेदीका अनुसार बजारमा हुने अनावश्यक मूल्य वृद्धिलाई नियन्त्रण गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले पहिलोपटक यति ठूलो परिमाणमा खाद्यान्न किन्न लगेको हो । यसभन्दा अघिल्ला वर्षहरूमा कम्पनीले आफ्ना खरीद केन्द्रहरू भएका बर्दिया, कैलाली, जनकपुर, विराटनगर र बिर्तामोडलगायत जिल्लाबाट मात्रै खाद्यान्न किन्ने गरेका कारण आफ्नो खरीद लक्ष्य भेटाउन सकेको थिएन । तर, चालू आर्थिक वर्षमा किन्ने लक्ष्य पूरा गर्न अन्य जिल्लामा पनि अस्थायी खरीद केन्द्र स्थापना गर्ने उनले बताइन् ।

किनिएको खाद्यान्न कम्पनीले विभिन्न जिल्लामा विक्री गर्दै आएको छ । आउँदा दिनहरूमा किनबेच प्रक्रियालाई अझै विस्तार गर्दै लैजाने योजना रहेको कम्पनीका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । ‘आवश्यक भएमा बजारको अवस्था हेरेर अहिले योजनामा परेकाबाहेक अन्य खाद्यान्नका प्रकार पनि थप्ने लक्ष्य रहेको छ,’ उनले भने ।

भूकम्प, बाढीपहिरो र अन्य प्राकृतिक विपत्तिमा तत्काल आपूर्ति गर्न ३३ हजार मेट्रिकटन खाद्यान्न मौज्दात राख्नुपर्ने प्रावधान भए पनि कम्पनीको मौज्दात अहिले त्यो भन्दा निकै कम छ । कम्पनीसँग हाल करीब ११ हजार मेट्रिकटन चमल र ५ सय ४९ मेट्रिक टन गहुँ मौज्दात छ । बन्दाबन्दीका कारण मौज्दात रित्तिँदै गएको र थप खाद्यान्न किन्न नसकेका कारण मौज्दात घटेको बताइएको छ । गतवर्ष राम्रो माग भएका कारण यस वर्ष पनि कम्पनीले करीब ६ हजार थान इन्डक्शन चूल्हो किनी विक्री गर्ने लक्ष्य राखेको छ । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*