जोखिममा स्वास्थ्यकर्मी, भन्छन्- ‘हामीलाई नै संक्रमण भएपछि कसले उपचार गर्ने ?’

जनपत्र
२६ श्रावण २०७७, सोमबार २१:१४

काठमाडौँ — नेपालमा कोरोना संक्रमण बढेसँगै फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरु पनि उत्तिकै जोखिममा रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म देशभर कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या २ सय ६० पुगेको जनाएको छ ।

महाशाखाका तथ्यांक अधिकृत कृष्णराज पाण्डेका अनुसार संक्रमित स्वास्थ्यकर्मीको संख्या यो भन्दा बढी पनि हुन सक्छ । ‘हामीले यसको तथ्यांक राख्‍ने क्रममा छौं । यकिन सूचना नभएका कारण ठ्याक्कै तथ्यांक हाल हामीसँग पनि छैन । ’

नेपालमा पहिलो पटक वैशाख ३० गते कपिलवस्तुस्थित एक अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि भने स्वास्थ्यकर्मीमा संक्रमण देखिने संख्या बढ्दो देखिन्छ । ईडीसीडीका अनुसार हालसम्म मेडिकल अफिसर(चिकित्सक) ६०, नर्स ६२, प्यारामेडिक्स ५१, ल्याब कर्मचारी २१ र अस्पतालका कर्मचारी तथा अन्य गरी ६३ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।

उपत्यकाका १४ वटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएको छ भने मुलुकभरका ८० भन्दा बढी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु संक्रमित रहेको महाशाखाले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सजग र सचेत नभए ठूलो दुर्घटना निम्तिन सक्ने खतरा औल्याउँछन् । उनी भन्छन्,‘संक्रमितको उपचारमा खटिने सबैभन्दा बढी जोखिममा स्वास्थ्यकर्मी नै रहेका छन् । उनीहरु नै संक्रमित भए नियमित स्वास्थ्य सेवा लिन जाने व्यक्तिमा पनि संक्रमणको जोखिम बढ्छ । मुख्य कुरा संक्रमण कसरी जोगाउने भन्ने हो । स्वास्थ्यकर्मी नै कोरोना देखियो भने कसले उपचार गर्ने ?’स्वास्थ्यकर्मी तथा बिरामी दुवैले जनस्वास्थ्यका मापदण्ड तथा व्यवहार कडा रुपमा पालना गर्नुपर्ने उनले बताए । बेलैमा ध्यान दिइएन भने सबै स्वास्थ्य सेवा प्रवाह गर्ने प्रणाली ध्वस्त हुन सक्ने उनले चेतावनी दिए ।

फ्रन्टलाइनमा खटेर कोरोना संक्रमितको उपचार गरिरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोला भन्छन्,‘अस्पताल संक्रमणको उच्च जोखिममा छ । देशभर कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मी कम छन्, उनीहरुलाई नै संक्रमण भयो भने सबै सेवा नै प्रभावित हुन्छन् । ‘

धेरै ठाउँमा संक्रमण नियन्त्रणमा ध्यान नपुर्‍याइएको उनले बताए । सुरक्षा कवच राम्ररी फुकाल्न नजान्दा पनि स्वास्थ्यकर्मीमा संक्रमण बढेको उनले औंल्याए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*