सरकारले कोरोनाबाट बचाउँछ भन्ने सोचेर नबसौं, आफैं सुरक्षित रहौं : कांग्रेस

जनपत्र
२६ श्रावण २०७७, सोमबार १९:३१

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएको बताएको छ । सरकारले कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न नसक्ने भएकाले आफै सुरक्षीत रहन पनि उसले आग्रह गरेको छ । कांग्रेसले गठन गरेको कोभिड- १९ सम्बन्धी अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरू पूर्ण रूपमा असफल भएकाले जनतालाई आफै सुरक्षित रहन आग्रह गरेको हो ।

कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरेर समितिका संयोजक प्रकाशशरण महतले सरकारले सुरक्षित गर्छ भन्ने सोचेर नबस्न सबैमा आग्रह गरेका हुन् । उनले भने, ‘सरकारले गर्ला र हामी सुरक्षीत हौंला भनेर नबसौं । आफूले आफैंलाई सुरक्षित गर्नुपर्‍यो । आफैं सुरक्षित हुने तरिका खोज्नुपर्‍यो । आफ्नो सहपाठी, साथीभाई, टोल छिमेकलाई सुरक्षित रहन र सचेतना अभियानलाई अगाडि बढाउन सबैलाई आह्वान गर्छौं ।’

महतले मास्क लगाउन, भौतिक दूरी अनिवार्य रूपमा कायम गर्न, स्यानेटाइजर प्रयोग गर्न र अनावश्यक रूपमा बाहिर हिँडडुल नगर्न पनि आग्रह गरेका छन् ।

सरकारलाई तत्काल कोरोना नियन्त्रणको जिम्मेवारी प्रभावकारी नेतृत्वलाई दिन पनि महतले आग्रह गरेका छन् । सरकारले स्वास्थ्य मन्त्रालयमा योग्यता, वरिष्ठता र व्यवसायिकतालाई वेवास्ता गर्दा नेतृत्व प्रभावकारी नदेखिएको उल्लेख गर्दै उनले वरिष्ठता र व्यवसायिकताका आधारमा मन्त्रालयमा जिम्मेवारी दिन आग्रह गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*