सीसीएमसीकाे निर्णय : देशैभर आइसाेलेशन र क्वरेण्टीनकाे सङ्ख्या बढाइने

जनपत्र
२६ श्रावण २०७७, सोमबार ०५:५५

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ ले देशभरि आइसोलेशन र क्वरेण्टीन अभाव देखिएकाले पालिकाको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको सीसीएमसी बैठकले उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले आइसोलेशनको अभाव देखिएको ठहर गर्दै थप व्यवस्था गर्ने निर्णय गरेको हो । पालिका र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेशन र क्वरेण्टीनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो ।

सरकारले तोकेका स्वास्थ्य प्रोटोकलहरु प्रयोग नगर्दा सङ्क्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष पनि बैठकले निकालेको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको छ ।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा सर्वसाधारण, व्यापारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबैलाई सुरक्षित रहन सचिव गुरागाईंले आग्रह गर्नुभयो । भदौ १ गतेबाट हवाई सेवा सञ्चालन गर्ने निर्णय सरकारले गरे पनि सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा के गर्ने भन्ने विषयमा भने कुनै निर्णय नभएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*