फुटबल प्रशिक्षणको तयारीमा एन्फा, खेलाडीले आफ्ना लुगा आफैं धुनुपर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल खेलाडीलाई अभ्यासमा फर्काउनका लागि यसअघिदेखि नै तयारी थालिसकेको छ ।
राष्ट्रिय टिमको क्याम्पमा रहेका ३४ मध्ये ३३ खेलाडी काठमाडौं आएर कोही होटलमा त कोही घरमै क्वारेन्टिनमा बसिरहेका छन् । केही दिनभित्र एन्फाले खेलाडीको पीसीआर पनि परीक्षण गरेर एन्फाको होस्टलमा राख्ने तयारी गरिरहेको छ ।
नेपाल सरकारले भदौ १ देखि जनस्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर खेलकुदको प्रशिक्षण गर्नका लागि खुल्ला गरेपछि अहिले विभिन्न खेल संघ सुरक्षित रुपमा खेलाडीको प्रशिक्षण सुरु गर्ने तयारीमा छन् । त्यसैअनुसार एन्फा पनि विश्वकप छनोट खेल्ने टिमको प्रशिक्षण सुरु गर्न तीव्र रुपमा लागिरहेको छ ।
होस्टल सेनिटाइज हुँदै
एन्फाले बिहीवारबाट एन्फा मुख्यालयमा रहेको होस्टल सेनिटाइज गर्ने काम सुरु गरेको छ । यसअघि एन्फाले होस्टल ललितपुर महानगरपालिकालाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न दिएको थियो ।