जाजरकोटका पहिरो पीडितलाई महिना दिनमा बल्ल राहतमा दुई किलो चामल

१२ जनाको ज्यान जाने गरी गत २५ असारमा आएको पहिरोले विस्थापित भएका बारेकोट गाउँपालिका ४, ५ र ६ का एक हजारभन्दा बढी सर्वसाधारणले ओत पाउन सकेका छैनन् । दिनभर खुला आकाशको भर पर्नुपर्ने उनीहरूसँग बर्खाबाट जोगिन केही थान त्रिपाल मात्र छ ।
झण्डै महिना दिनदेखि जंगलभित्र त्रिपाल टाँगेर बसेका उनीहरूसँग न गतिलो बास छ, न त खाने अन्न नै । विपतमा परेर विस्थापित भएको महिना दिन पुगिसक्दा पनि राज्यबाट सहायता नपाएको पीडित बिर्जित सार्कीले बताए । एउटा त्रिपालभित्र १२ जनाको परिवार बस्ने परेको छ, अर्का विस्थापित ७४ वर्षीय दुर्गा सार्कीले भने– वासको समस्या मात्र होइन, भोको पेटको समस्या पनि उस्तै छ ।
पहिरोका कारण सार्कीटोलका मात्र ३२ जनाको परिवार विस्थापित भएको छ । ‘खानेपानीका पाइपहरू पहिरोले बगाएका कारण पिउने पानीको समस्या पनि खेप्नुपरेको छ । खोलामा भल बनेर बगेको पानी पिउन बाध्य भएका छौं,’ बिर्जित सार्कीले भने, जंगलको बास भएको छ, सर्प, बिच्छीको डर पनि उस्तै छ ।’
पहिरोपीडितका लागि तत्काल राहत स्वरूप प्रतिव्यक्ति दुई किलो चामल वितरण गरिएको थियो । त्यसयता उनीहरूले अन्य राहत पाएका छैनन् । स्थानीय शिक्षक तीर्थराज बोहराले राहत स्वरूप दिइएको दुई किलो चामल उहिल्यै सकिएकाले बनिबुतो गरेर पीडितहरूले भोक टार्ने गरेको बताए । संघीय सरकारका मन्त्री शक्तिबहादुर बस्नेतले पठाएका आठ सय त्रिपालमा यहाँका सर्वसाधारण ओत लागेका छन् । नयाँ पत्रिका दैनिकबाट