पाँच वर्षमा पनि बनेन ३० किमी सडक
लामोसाँघु–जिरी सडकखण्डअन्तर्गतको मुडे–चरिकोट सडकखण्डमा निर्माण कम्पनीले समयमा नै काम नगर्दा पाँच वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको छ । तीस किलोमिटर सडक पाँच वर्षदेखि निर्माण हुन नसकेपछि नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
दुई वर्षमा नै निर्माण सम्पन्न गर्ने गरी मुढेबाट चरिकोटसम्म शकिला हेदर, शंकरमाली, सुनौलो खिम्ती जेभी ठेकेदार कम्पनीले जिम्मा लिएको भएता पनि पाँच वर्ष बितिसक्दासमेत काम सम्पन्न हुनसकेको छैन । समयमै काम नगरेपछि निर्माण कम्पनीले विभिन्न बहानामा पटक–पटक समय थप गर्दै आइरहेको छ । पटक–पटक समय थप भएता पनि निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा दोलखाका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
मुडेबाट चरिकोटसम्मको ३० किलोमिटर सडक दुई वर्षमा काम सम्पन्न गरी हस्तान्तरण गर्ने गरी विसं २०७२ भदौमा सम्झौता गरी शकिला हेदर, शङ्करमाली, सुनौलो खिम्ती जेभी कम्पनीले जिम्मा लिएको थियो । सडक अलपत्र पारेको र नागरिकलाई दुःख दिएको भन्दै दोलखाका नागरिक समाजले सङ्घर्ष समिति नै गठन गरी पटक–पटक आन्दोलनसमेत गर्दै आएका छन् ।
नागरिकको चर्को आन्दोलनपछि केही समय काम गरेजस्तो गरे पनि निर्माण कम्पनीले निरन्तर काम गर्न सकेको छैन । सडकको अवस्था र नागरिकले भोग्नुपरेको समस्याको विषयमा निर्माण कम्पनीलाई जानकारी गराई पटक–पटक सडक सुधारका लागि अनुरोध भइरहेको र बेवास्ता गरे आन्दोलनको तयारी भइरहेको नागरिक समाज दोलखाका संयोजक चीरञ्जीवी मास्केले बताए ।