काठमाडौँ उपत्यकामा एकै दिन १०२ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
२२ श्रावण २०७७, बिहीबार ०५:५९

काठमाडौं उपत्यकामा बुधबार एकै दिन १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले काठमाडौं उपत्यकामा बुधबार एकैदिन १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको खबरहबलाई बताए ।

‘बुधबार सवा ४ बजेको लाइभमा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक भएको थियो,’ कोइरालाले खबरहबसँग भने, ‘ बुधबार नै बलुका ७ बजेको रिपोर्टमा थप ४० जना संक्रमित थपिएका छन् ।” कोइरालाका अनुसार नयाँ थपिएका संक्रमितहरु अधिकांस प्रदेश नम्बर २ बाट उपत्यका प्रवेश गरेका तथा भारतबाट आएका व्यक्ति छन् ।

यस्तै कतिपय संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु छन् । उनीहरूमध्ये अघिकांश काठमाडौं जिल्लामा बसोबास गर्नेहरु रहेका छन् । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड पूरा गर्न कोइरालाले काठमाडौंबासीलाई आग्रह गरेका छन् । उनले अहिलेको अवस्थामा काठमाडौँ उपत्यकामा भिडभाड हुने स्थानमा नजान, अनिवार्यरूपमा मास्कको प्रयोग गर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

यस्तै काठमाडौँ उपत्यकामा कोरोना संक्रमण न्युनिकरणका लागि सरकारले पनि विशेष पहल गर्नुपर्ने कोइरालाले बताए । उनले भारतीय सीमानाका तथा काठमाडौँ उपत्यका भित्रिने नाकाहरूमा समेत विशेष कडाइ गर्नुपर्ने बताए । समुदायमा नयाँ देखिएका व्यक्तिहरूको निगरानी गर्न समुदायभित्र रहेका व्यक्ति आफैँ सक्रिय हुनुपर्ने पनि उनले बताए । उपत्यका बाहिरबाट आएका कोरोना संक्रमितहरूले काठमाडौँ उपत्यकामै रहेका आफ्ना परिवारका सदस्य र कार्यालयका सहकर्मीहरुमा समेत कोरोनाको जोखिम बढाइरहेको कोइरालाको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*