हेटौंडाको प्रयोगशालामा कोरोना गरिएको परिक्षणमा १३ जनामा कोरोना पुष्टि
हेटौंडा । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा १३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । हेटौंडा–१० स्थित रहेको उक्त प्रयोगशालामा गरिएको परीक्षणमा बारा, पर्सा र रौतहटका गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा। जागेश्वर गौतमका अनुसार, हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ६ जना, पर्साका एक जना र रौतहटका ६ जना गरी १३ जना संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा दुई सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २१ हजार नौ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भएर ६५ जना घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार २६ पुगेको मन्त्रालयले जनाएको छ ।
साथै बितेको २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले पाँच हजार नौ सय २५ जना सङ्क्रमित आइसोलेसनमा रहेका छन् भने १० हजार चार सय ५२ जना क्वरेण्टीनमा छन् । नेपालमा अहिलेसम्म चार लाख ६ हजार चार सय ९४ जनाको पीसीआर विधिबाट परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।