संक्रमणले प्रहरीमा सेवा प्रभावित

जनपत्र
२० श्रावण २०७७, मंगलवार ०७:४७

काठमाडौँ — वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित वडा प्रहरी कार्यालयले साउन २ गते ५ भारतीय नागरिकलाई पक्राउ गर्‍यो । अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँचै जना वीरगन्जका औद्योगिक क्षेत्रमा भारतीय कामदार ओसार्थे । थुनामा राख्नुअघि गरिएको पीसीआर परीक्षणमा सबैमा कोरोना संक्रमण देखिएपछि प्रहरी झस्किए । ८ गतेबाट ४८ प्रहरी कार्यरत चौकी नै सिल गरियो ।

थुनामा रहेकाबाट संक्रमण सरेको हुन सक्ने आशंकमा सबै प्रहरीको पीसीआर परीक्षण गर्दा एक हवलदारमा संक्रमण पुष्टि भयो । यसरी १२ दिनसम्म सिल भएको प्रहरी चौकी सोमबारबाट फेरि सञ्चालनमा आएको छ । इन्सपेक्टर दीपक शाहका अनुसार सिलबन्दीका बेला चौकीमा आउने दैनिक करिब एक सय सेवाग्राहीलाई जिल्ला प्रहरी कार्यालय जाने व्यवस्था मिलाइएको थियो ।

श्रीपुर चौकीको दृष्टान्तले कोरोना संक्रमणका कारण जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने प्रहरीहरू कसरी काम गरिरहेका छन् भन्ने मात्रै बुझाउँदैन, कसरी संक्रमणको खतरामा छन् भन्ने पनि बुझाउँछ । प्रहरी प्रधान कार्यालयमा पछिल्लो एक सातामै ७२ जना संक्रमित देखापर्नु र भारतसँग सीमा जोडिएका नाकामा खटिएका प्रहरीमा संक्रमण बढ्नु, सोमबार मात्रै संक्रमणको उच्च जोखिम रहेको प्रदेश २ का २ ब्यारेक सिलबन्दी गरिनुले प्रहरी संक्रमणको उच्च जोखिममा रहेको देखाउँछ ।

अहिले प्रहरी प्रधान कार्यालयअन्तर्गतका सवारी व्यवस्थापन महाशाखा, सञ्चार निर्देशनालय, महानगरीय ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय धनुषाको ब्यारेक र सप्तरीको राजविराजस्थित प्रदेश २ तालिम केन्द्रको ब्यारेक सिल गरिएको छ । यसको सोझो असर सेवा प्रवाहमा पर्न थालेको छ । अनलाइनबाट वा नजिकैका प्रहरी कार्यालयबाट सेवा सञ्चालनको व्यवस्था मिलाइए पनि संक्रमण व्यापक भएको खण्डमा प्रहरीको सेवा प्रवाह कमजोर हुने देखिन्छ ।

अकाउन्ट शाखाका सहयोगी र चालकमा एकैचोटि संक्रमण देखिएपछि प्रदेश १ प्रहरी कार्यालय पनि एक सातको सिलबन्दीपछि खुलेको छ । यसअघि कहिले थुनुवामा त कहिले प्रहरीमा नै संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी, बैतडीकै इलाका प्रहरी कार्यालय पाटन, अछामको मंगलसेनस्थित प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पनि सिलबन्दी गरिएको थियो । संक्रमण देखिएलगत्तै सम्पर्कमा रहेका सबै प्रहरी कर्मचारीमा तुरुन्तै पीसीआर गर्ने र त्यसको नतिजा तुरुन्तै नआउँदा प्रहरी कार्यालय नै कैयौं दिनसम्म सिलबन्दी हुने गरेका छन् ।

कान्तिपुरले सातै प्रदेश प्रहरी कार्यालय र उपत्यकाबाट संकलन गरेको तथ्यांकअनुसार देशभरका १ सय ५९ प्रहरी संक्रमित भएर आइसोलेसनमा छन् । जसमध्ये सबैभन्दा धेरै ७२ जना प्रहरी प्रधान कार्यालयअन्तर्गत सवारी व्यवस्थापन महाशाखा र सञ्चार निर्देशनालयका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका ५ र अन्य २ गरी उपत्यकामा कार्यरत ७ संक्रमित प्रहरी उपचाररत छन् । देशभरबाट ९७ प्रहरी संक्रमणमुक्त भएर नियमित काममा फर्किसकेका छन् ।

प्रहरीमै संक्रमण बढेपछि देशव्यापी सुरु भएको समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदीले कोरोना त्रासकै कारण समुदाय तहबाट प्रहरीमा आउने सूचनामा पनि कमी आएको अनुभव सुनाए । कोरोना संक्रमण सुरु भएयता भारत र तेस्रो मुलुकबाट सुदूरपश्चिममा करिब ३ लाख जनसंख्या थपिएकाले प्रहरीको काम कारबाही झनै बढेको उनको भनाइ छ । ‘यद्यपि बिदा कटौती गरेर र कुनै प्रहरी चौकी सिल भयो भने अर्को चौकीबाट जनशक्ति खटाएर भए पनि सेवा प्रवाहमा कमी हुन दिएका छैनौं,’ उनले भने ।

प्रदेश १ का डीआईजी ईश्वरबाबु कार्कीले समुदायमा कोरोना संक्रमणको दर बढ्दै जाँदा त्यसको सोझो असर प्रहरी सेवामा पनि पर्ने बताए । उनका अनुसार सीमावर्ती क्षेत्रमा, मुद्दा शाखामा र फिल्डको अनुसन्धानमा खटिने प्रहरी जोखिममा छन् ।

वाग्मती प्रदेशका डीआईजी वसन्त लामाले उपत्यकाबाहेक प्रदेशमा कार्यरत प्रहरीमा संक्रमण नदेखिए पनि थप सचेत बन्नुपर्ने देखिएको बताए । हालसम्म १ हजार ५३ प्रहरीमा पीसीआर परीक्षण गरिए पनि उपत्यकाबाहेक वाग्मती प्रदेशमा कार्यरत प्रहरीमा संक्रमण नदेखिएको बताए । ‘स–साना समूहमा बनाएर खटाउने, एक समूहका प्रहरी अर्को समूहमा मिसिन नदिने, खाना खाने समय अलग–अलग गरेर संक्रमणको जोखिम कम गरिएको छ,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*