सडकमा हिँड्नै नपाउने ?

जनपत्र
१८ श्रावण २०७७, आईतवार १०:०८

काठमाडौँ — शनिबार मध्याह्न नक्साल भाटभटेनी चोकको सडकपेटीबाट भावना राउतलाई प्रहरीले लछारपछार गर्दै पक्रियो । उनको ‘गल्ती’ त्यही थियो, उनी सडकमा आइन् र झर्कंदै प्रश्न सोध्ने प्रहरीसँग प्रतिप्रश्न गरिन् । उनको हातमा पर्चा–पम्प्लेट थिएन, भाटभटेनी आएको भन्दै थिइन् तर प्रहरीले गाडीभित्र हालिहाल्यो । ‘म बाटोमा हिँडिरहेको थिएँ, प्रहरीले सोधेको प्रश्नको जवाफ पनि दिएँ तर समातिहाल्यो,’ प्रहरी हिरासतबाट भावनाले कान्तिपुरसँग भनिन् ।

शनिबार प्रहरीले भावनाजस्तै ‘इनफ इज इनफ’ अभियानमा आबद्ध तर सडकपेटीमा चुपचाप हिँडिरहेका २० अभियन्तालाई पक्राउ गर्‍यो । विजयबाबु सिवाकोटी, वृतान्त खनाल, प्रतीक श्रेष्ठ, सरस्वती काफ्ले, मुना श्रेष्ठ, मनीष श्रेष्ठलगायतका अभियन्तालाई मालीगाउँ प्रहरी वृत्तमा राखिएको थियो । उनीहरू सबै नक्साल, हाँडीगाउँ वरपरका सडकबाट समातिएका हुन् । ‘आज पनि प्रहरीले भाटभटेनी मन्दिर अगाडि बटुवा हिँड्ने बाटोमा उभिरहेको ‘अपराध’ मा गिरफ्तार गरेको छ…,’ हिरासतबाटै सिवाकोटीले ट्वीट गरे । शुक्रबार पनि ‘इनफ इज इनफ’ का अभियन्तामाथि प्रहरीले दमन गरेको थियो । शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा झन्डै ५० जना पक्राउ परेका थिए । उनीहरूलाई शुक्रबार साँझ ८ बजेतिर छाडिएको थियो ।

शुक्रबारको दमनलाई शनिबार पनि प्रहरीले निरन्तरता दिएको हो । नक्साल क्षेत्रमा उभिने वा हिँड्नेसँग प्रहरीले परिचयपत्र माग्ने, हिँड्नुको कारण सोध्ने र शंका लाग्नेबित्तिकै समात्ने गरेको थियो । जबकि यो निषेधित क्षेत्र पनि होइन । ‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने संवैधानिक अधिकार हो तर आन्दोलन गर्नुअगावै जहाँ भेट्यो, त्यहीं पक्राउ गरियो,’ अभियन्ता आलोक सुवेदी भन्छन्, ‘कतिपय सर्वसाधारणलाई समेत समातेर दुःख दिइएको छ ।’ शुक्रबार पक्राउ पर्नेमध्ये आलोक पनि एक हुन् ।

बाटोमै आन्दोलन हुने भएकाले बाटोबाटै समात्नुपरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । आन्दोलनकारीबाहेक हूलमूलमा समातिएका एक–दुई जनालाई छाडिहालेको उनको भनाइ छ । ‘आन्दोलन गर्न नदिनू भन्ने आदेश छ । त्यही अनुसार आन्दोलन गर्न जान लागेकालाई समातिएको हो,’ एसएसपी ज्ञवालीले भने, ‘हामी पनि नागरिकलाई जात्रा देखाउन चाहन्नौं ।’

शनिबार मध्याह्न नक्साल चोकमा प्रहरीले ‘जात्रा’ नदेखाए पनि त्रासको माहोल भने सिर्जना गरिरहेको थियो । धर्ना, जुलुस, प्रदर्शन केही नहुँदै परिचयपत्र माग्ने, नदेखाए समात्ने गरेपछि सर्वसाधारणहरू आतंकित देखिन्थे । प्रहरीले ‘कोरोनाका कारण भेला हुन नपाइने, भीड भए नियन्त्रणमा लिने’ माइकिङ गरिरहेको थियो । प्रदर्शनकारीको न भेला थियो, न भीड । तैपनि एक–दुई जना देख्नासाथ वा शंका लाग्नासाथ घेरा हालेर गाडीमा हालेको देखिन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*