प्रदेश २ मा यसरी फैलियो कोरोना
वीरगन्ज — प्रदेश २ का तीन ठूला सहर जनकपुर, वीरगन्ज र राजविराजमा कोरोना फैलिएपछि कहाँ कमजोरी भयो भन्ने पहिल्याउन प्रदेश सरकारले गत बोलाएको बैठकमा आरोप–प्रत्यारोप चल्यो । मुख्यमन्त्री लालबाबु राउतले सशस्त्र प्रहरीका डीआईजी कृष्णभक्त ब्रह्मचार्यलाई ‘पैसा लिएर नाकामा मानिस छिराएको’ आरोप लगाए । उनले भन्दै सीमामा कडाइ गर्न निर्देशन दिए ।
लगत्तै डीआईजी ब्रह्मचार्यले पर्सा र सप्तरीका बीओपी प्रमुखलाई बोलाएर थप कडाइ गर्न निर्देशन दिए । संघीय सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै प्रदेश २ का नाकालाई पनि खुकुलो पारियो । कोरोना फैलिनुमा प्रदेश सरकारले यसैलाई प्रमुख कारण मानेको छ ।
लकडाउन अन्त्यपछि अपनाउनुपर्ने सावधानीमा नागरिक लापरवाह देखिए । कोरोना संक्रमणले मृत्यु भएका राजविराजका व्यापारी लकडाउनमै परिवारका सदस्यलाई लिएर भारतको राजधानी नयाँदिल्ली पुगे । पछि बिनारोकटोक राजविराज फर्किए । स्वास्थ्यमा समस्या देखिएपछि मात्रै उनी अस्पताल पुगेका थिए ।
नाकाको निगरानीमा लापरबाही, बजार र होटल खोल्दा स्वास्थ्य सजगताको ख्याल नगर्नु र सरकारी अस्पताललाई उपकरणयुक्त नबनाउनुलगायतका संक्रमण बढाउने कारक भए । ‘कोरोना रोकथामका लागि सुरक्षा मापदण्ड अपनाउनै छोडिदिए, यसमा सरकार र जनता सबै दोषी छन्,’ जनकपुरका वरिष्ठ चिकित्सक डा. विजय सिंहले भने, ‘संक्रमितको संख्या नबढोस् भनेर लकडाउन गरिन्छ । त्यही बीचमा स्वास्थ्य संस्थाको क्षमतामा विस्तार गर्नुपर्छ तर लकडाउनमा आधारभूत काम पनि सरकारले गर्न सकेन । परिणामस्वरूप अहिले संक्रमण बढ्यो । अस्पताललाई पैसा मात्र दिएर हुन्न । परीक्षण र उपकरण बढाउने र सचेतनामा पनि ध्यान दिनुपर्छ ।’