वीरगञ्ज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण चार जनाको मृत्यु भयो । चारमध्ये तीन जनाको मृत्यु वीरगञ्जमै भयो भने पाटन अस्पताल, ललितपुरमा मृत्यु भएका संक्रमित पनि वीरगञ्जसँगै जोडिएका छन् ।
– वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमन उपचारका क्रममा बिहीबार मृत्यु भयो । ज्वरो आउनुका साथै श्वासप्रस्वासमा समस्या आएपनि मंगलबार अस्पताल पुगेका स्वाब संकलन गरेर उनको आकस्मिक कक्षमै उपचार भइरहेको थियो । बेलुकी ७ : ४० बजे उनको मृत्यु भयो । मृत्यु भइसकेपछि आएको रिपोर्टमा कोरोना संक्रमण पाइयो ।
– जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको बिहीबार राति ११ बजेतिर मृत्यु भयो । मुटुको वाइपास सर्जरी गरिसकेका ५६ बर्षीय उनलाई कोरोना संक्रमण भएको साउन ६ गते नै पुष्टि भएको थियो । साउन ७ गते दिउँसो गण्डक अस्पतालमा भर्ना भएका उनको आईसीयूमा उपचार चल्दै थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बिहीबार दिउँसोदेखि शरीरमा अक्सिजनको मात्रा कम हुँदै गयो । अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन सकिएन ।
– वीरगञ्ज–२ छपकैयाका ६५ बर्षीय पुरुषको घरमै मृत्यु भएको थियो । उनी सुगरका विरामी भएको थाहा पाएपछि नारायणी अस्पतालको टोलीले स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पाइयो ।
पर्साको वीरगञ्जमा पहिलो पटक २९ चैत २०७६ मा तीन जना भारतीय जमातीमा कोरोन भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसयता उकालो लागेको कोरोना संक्रमितको ग्राफ असार मध्यतिर आइपुग्दा निकै घटेको थियो । दैनिक पहिचान हुने संक्रमितको संख्या घटेर दुई अंकभन्दा पनि कममा आइपुगेको थियो ।
तर अहिले अवस्था फेरिएको छ । वीरगञ्जमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । संक्रमितको संख्या मात्र बढेको छैन, पछिल्लो ९ दिनमा मात्र जिल्लाका ९ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय, पर्साका तथ्यांकअनुसार जिल्लामा हालसम्म ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ३९ स्वास्थ्यकर्मी, १५ कैदी, ८ सुरक्षाकर्मी, ८ अस्पताल सफाइकर्मी, २ एम्बुलेन्स चालक र दुई जना पत्रकारसमेत रहेका छन् ।
मृत्यु अधिकांश दीर्घरोगी
साउन महिनामा कोभिड–१९ को संक्रमणबाट वीरगञ्जमा मृत्यु भएकामध्ये धेरै दीर्घरोगी छन् ।
४ जनामा मुटुसम्बन्धी समस्या थियो । उनीहरुमध्ये दुई जनामा मधुमेह पनि थियो । यस्तै दुई जना मृगौलासम्बन्धी समस्याले पीडित थिए भने एक जना मधुमेहको उपचार गराउँदै आएका व्यक्ति हुन् ।
धेरै संक्रमितमा अक्सिजन कमी हुने र श्वासप्रस्वासमा समस्या आउने गरेको अस्थायी कोभिड अस्पताल गण्डकका कोअर्डिनेटर डा. उदयनारायण सिंह बताउँछन् ।
‘पछिल्ला दिनमा लक्षण भएका संक्रमित धेरै देखिएका छन्’ उनले भने, ‘संक्रमित मध्ये दीर्घरोगीहरुलाई बढी गलाएको छ । शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनीहरुले श्वास लिन सक्दैनन् र मृत्यु हुने गरेको छ ।’