घुँगी खोज्दा मारिएका चेपाङको परिवारलाई १० लाख दिने सहमति

चितवन राष्ट्रिय निकुञ्जभित्र घुँगी खोज्न जाँदा सेनाको कुटपिटबाट मृत्यु भएका राप्ती नगरपालिका–२ मिलनटोलका राजकुमार प्रजाको परिवारलाई १० लाख रुपैयाँ राहत दिने सहमति भएको छ । शुक्रबार भएको लिखित सहमतिपछि उनको परिवार शव बुझ्न तयार भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा निकुञ्जले मध्यवर्ती क्षेत्र उपभोक्ता समिति लोथरमार्फत सात लाख र राप्ती नगरपालिकाले तीन लाख राहत सहयोग गर्ने सहमति भएको मेयर प्रभा बरालले बताइन् । यद्यपि, रकम कहिलेसम्म दिने भनेर सहमति पत्रमा मिति भने खुलाइएको छैन ।
घटनाको निष्पक्ष छानबिन र अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्ने, राजकुमारकी डेढ वर्षीया छोरी विद्यालय जाने उमेर नपुग्दासम्म भरणपोषण र तत्पश्चात् १२ कक्षासम्म अध्ययनका लागि निकुञ्जले सहयोग गर्ने सहमति पनि दुई पक्षबीच भएको छ । त्यस्तै, राजकुमारको घर निर्माणका लागि निकुञ्जले निर्माण सामग्री उपलब्ध गराउने र मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले निर्माणमा सहजीकरण गर्ने सहमतिमा उल्लेख छ ।
१ साउनमा घुँगी खोज्न गएका राजकुमारसहित स्थानीय बासिन्दालाई निकुञ्जको लिगलिगे पोस्टको सैनिक टोलीले मरणासन्न हुने गरी कुटपिट गरेको थियो । गम्भीर घाइते भएका राजकुमारको ८ साउनमा मृत्यु भएको थियो ।
राजकुमारको शव पोस्टमार्टमका लागि ११ साउनमा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । घटनाको छानबिन गरी दोषीलाई कारबाही र परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै आफन्तजनले शव बुझ्न मानेका थिएनन् । परिवारलाई १० लाख राहत दिने लिखित सहमति भएपछि आफन्तजत शव बुझ्न तयार भएको राप्ती नगरपालिका मेयर बरालले बताइन् । शनिबार उनको शव काठमाडौंबाट चितवन ल्याइने भएको छ ।
यसैबीच, चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन ९प्रमुख० नारायण रूपाखेती विभागमा तानिएका छन् । उनको ठाउँमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अणनाथ बराल आएका छन् । उनी केही वर्षअघि चितवन निकुञ्जमै सहायक वार्डेन थिए ।
रूपाखेतीलाई १४ साउनमा विभाग तानिए पनि उनले रमाना बुझिसकेका छैनन् । तीन दिनको फरकमा निकुञ्ज क्षेत्रमा विवादास्पद र अमानवीय घटना भएपछि सरुवा गरिएको हो । १ साउनमा निकुञ्ज क्षेत्रमा सेनाको कुटपिटबाट राजकुमारको मृत्यु भएको थियो । त्यस्तै, ३ साउनमा माडीको कुसुमखोलास्थित चेपाङ समुदायका दुई घर निकुञ्जले हात्ती लगाएर भत्काउनुका साथै आगजनी गरेको थियो । नयाँ पत्रिकाडेलीबाट