वीरगञ्जका मेयरलाई कोरोना संक्रमण
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी उनले दिएका छन् ।
‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु’ उनले भने, ‘काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ ।’
कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताएका छन् ।
वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको मानिएको छ । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए ।
उनले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गर्नुको साथै क्वारेन्टिन, आइसोलेसन र कोभिड अस्पतालमा रहेका संक्रमितसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र बस्ने व्यवस्था मिलाएका छन् ।