हल्लाखल्लाले भागेन सलह

जनपत्र
१६ श्रावण २०७७, शुक्रबार ०६:०३

दैलेखमा सलहले बालीनाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित भएका छन् । सुर्खेत हुँदै दैलेख प्रवेश गरेको सलहले जिल्लाका दुई स्थानीय तहको २४० हेक्टरमा लगाइएको सम्पूर्ण बाली सखाप बनाएको छ । १५ दिनअघि जिल्ला भित्रिएको सलहले भगवतीमाई र नौमुले गाउँपालिकामा मात्रै उक्त क्षति गरेको हो । यी दुई गाउँपालिकाको विभिन्न क्षेत्रमा २४० हेक्टर क्षेत्रफलमा लगाइएको मकै, कोदो, धान र तरकारीलगायत बालीनालीमा क्षति पुर्‍याएको सलह व्यवस्थापन तथा नियन्त्रण समितिका सदस्य घनश्याम कार्कीले बताए ।

उनका अनुसार सलहका दुई ओटा झुण्डले अन्य बोटबिरुवामा पनि क्षति गरिरहेको छ । साउनको महीनामा सुनसान हुने गाउँहरू अहिले जताततै सलह धपाउन हल्लाखल्लामय बनेको छ । थाल, ड्रम, दमाह, मादलको आवाजले गाउँघर ‘कोलाहलमय’ बनाउँदा पनि सहल नभागेको कार्कीले बताए ।

किसानले आ–आफ्नो बारीमा आगो बालेर पनि सलह भगाउने प्रयास गरिरहेका छन् । तर, केही गरेर पनि सलह नभागेको भगवतीमाई गाउँपालिका–२ का स्थानीय किसान नरेन्द्र रेग्मी बताउँछन् । थाल ठटाउने तथा हल्लाखल्लाको आवाजले सलह भाग्छ भनेर कृषिका अधिकारीहरूले भने पनि जति हल्लाखल्ला गरेर कोलाहल नै मच्चाउँदा पनि सलह नभागेको उनले बताए ।

उनका अनुसार सलहले कमलो बाली मकैको टुप्पा, धान, कोदो तथा तरकारीमा धेरै नोक्सानी गरेको छ । खाद्यान्नको उच्च जोखिममा रहेको नौमुले र भगवतीमाईका स्थानीयहरू वर्षभर पुग्ने खाद्यान्नको जोहो कसरी गर्ने भन्ने थप चिन्तामा परेका छन् ।

जिल्ला समन्वयन समितिका अनुसार ११ ओटा स्थानीय तहमा नौमुलेमा किसानले उत्पादन गरेको खाद्यान्नले ३ महीना पनि खान पुग्दैन । सलहले झन क्षति गर्दा खाद्यान्नको समस्या थपिने स्थानीयले बताएका छन् ।अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*