प्रदेश ५ मा कोरोना संक्रमणको ‘सेकेण्ड वेभ’ को डर
बुटवल । लकडाउन खुलेसँगै प्रदेश ५ मा कोरोना संक्रमण पुनः फैलिने जोखिम बढेको छ । चार महिना लामो लकडाउनपछि सार्वजनिक यातायात चल्न थालेका छन् । सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षाप्रति लापरवाही बढ्न थालेको छ ।
भारतबाट प्रहरीको आँखा छलेर भारतीय कामदारहरु नेपाल आउने क्रम पनि रोकिएको छैन । ती भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ ।
चार दिनअघि बुटवलको एक सिरक– डसना उद्योगमा काम गर्न भारतबाट आएर होटेलमा बसेका तीनजना भारतीय नागरिकमा कोरोना पोजेटिभ देखियो । उनीहरु बेलहिया नाका हुँदै बुटवल आएका थिए । यसले सीमा नाकामा सुरक्षाकर्मीले नेपाल प्रवेशमा कडाइ गरेका छैनन् भन्ने पुष्टि गरेको छ ।
भारतबाट नेपाल आउने नेपाली वा भारतीय नागरिकबाट संक्रमण फैलन नदिन सीमा नाकामा सञ्चालनमा ल्याइएका २२ वटा हेल्थ डेस्कहरु अहिले बन्द छन् ।
‘लकडाउन अन्त्य भएपछि जोसुकै मान्छेहरु जुनसुकै ठाउँबाट जहाँ पनि जान–आउन थाले,’ प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरी भन्छन्, ‘करिब–करिब नियन्त्रणमा आइसकेको कोरोना लकडाउन खुलेपछि फेरि बढ्ने जोखिम देखेका छौं ।’
लकडाउन खुलेसँगै संक्रमण दर फेरि बढ्न थालेको र स्थिति फरक भएको डा. गिरीले बताए ।
कपिलवस्तुमा मंगलबार ८९ जनाको पीसीआर परीक्षण गर्दा शिवराज नगरपालिकामा मात्रै ३२ जनामा संक्रमण देखिनु र तीमध्ये केहीको ट्राभल हिस्ट्री नै नभएकाले समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिन थालेको हो कि भन्ने आशंका मन्त्रालयले गरेको डा. गिरीले बताए ।
१३ जनाको मृत्यु, ३१५ अस्पताल भर्ना
प्रदेश ५ मा हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । २ जना आईसीयूमा रहेका सहित ३१५ जना कोरोना संक्रमितहरु अस्पतालमा उपचारत छन् । कुल संक्रमतिमध्ये ३ हजार ९०४ जना निको भएर घर फर्केका छन् । निको हुने दर ९२.२५ प्रतिशत छ ।
जिल्लागत रुपमा कपिलवस्तुमा ७९८, दाङमा ६६३, पाल्पामा ५५९, बांकेमा ४१३, गुल्मीमा ३६०, अर्घाखाँचीमा २३८, रुपन्देहीमा ३३५, प्युठानमा ३३५, बर्दियामा २३२, नवलपरासी पश्चिममा १२१, रोल्पामा ७३ र रुकुम पूर्वमा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।