मास्क नलगाउने कारबाहीमा, १२ हजार राजश्व असुल

सप्तरी – मास्क नलगाई हिँड्नेलाई सप्तरी प्रशासनले कारबाही गर्न थालेको छ ।
हाट, बजार र पूर्व-पश्चिम राजमार्गबाट नियन्त्रणमा लिइएका १२३ जनाबाट प्रतिव्यक्ति १०० रुपैयाँ जरिवाना तिराएर छाड्ने गरेको जिल्ला प्रशासन कार्यालय, सप्तरीले जनाएको छ । जसबापत १२ हजार ३०० रुपैयाँ राजस्व सङ्कलन हुने प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार सूचना जारी गर्दै सार्वजनिक ठाउँमा हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन आग्रह गरेको थियो । सूचनामा मास्क नलगाउनेलाई कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । सरकारको निर्णय अवज्ञा गर्नेलाई नियन्त्रणमा लिई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।
गल्ती गर्नेलाई कानुनअनुसार जरिवाना गरिए पनि कोरोना सङ्क्रमणको जोखिम पुर्याउन नहुने भन्दै स्थानीय वुद्धिजीवीले मास्क नलगाउनेलाई नियन्त्रणमा लिनुअघि नि-सङ्क्रमण गर्ने, मास्क उपलब्ध गराउने बताएका छन् ।
नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले सकभर यस्तो अवस्था नै आउन नदिनेतर्फ नागरिक स्वयं सचेत हुनुपर्ने भन्नुहुँदै नियन्त्रणमा लिइएकालाई अनिवार्य मास्क उपलब्ध गराउनुपर्ने बताउनुभयो ।