राजधानी काठमाडौं र शहरी क्षेत्र कोरोना संक्रमणको थप जोखिममा
सरकारले लकडाउन अन्त्य गरेसँगै शहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दूरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो बस्तीका कारण सहरी क्षेत्र थप जोखिममा परेको हो । पछिल्ला दिनमा गाउँ गएका व्यक्ति पनि शहर फर्किने क्रम शुरू भएको छ । यसले पनि शहरी क्षेत्रमा जोखिम बढेको हो । कुनै व्यक्ति संक्रमितको सम्पर्कमा आइहाले कन्ट्याक्ट ट्रेसिङ गर्न समेत चुनौती बन्दै गएको छ ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । मंगलवार पछिल्लो २५ दिनको अवधिमा सबैभन्दा धेरै ३११ संक्रमित थपिएका छन् । यसअघि गत १९ असारमा एकै दिन थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलवार काठमाडौं उपत्यकामा भेटिएका संक्रमितमध्ये अधिकांश प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत सुरक्षाकर्मी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार मंगलवार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २७ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । काठमाडौंका धापासी, बसुन्धारा क्षेत्रमा पनि संक्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
पछिल्लो केही दिनयता लक्षणसहितका संक्रमित देखिन थालेका छन् । श्वासप्रश्वासमा गाह्रो हुने, ज्वरो आउनेलगायतका लक्षण संक्रमितहरूमा देखिन थालेको छ । जसकारण जोखिम दिन प्रतिदिन बढ्दै गएको भन्दै सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन् । सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले संक्रमणबाट बच्ने उपाय भनेकै व्यक्ति आफैं सतर्क रहनु रहेको बताए । उनले भने, ‘भौतिक दूरी कायम गर्नुपर्छ । कतै हिँड्दा मास्कको समुचित प्रयोग गर्नुपर्छ । जोगिने उत्तम उपाय भनेकै आफू सजग रहनु हो ।’
पछिल्लो ११ दिनको अवधिमा ९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत ३ साउनसम्म संक्रमितमध्ये ४० जनाको मृत्यु भएकामा मंगलवारसम्म मृतकको संख्या ४९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३९ जना रहेको छ । हाल १५ हजार ३३१ जना क्वारेन्टीनमा बस्दै आएका छन् । संक्रमितमध्ये हालसम्म १३ हजार ८७५ जना डिस्चार्ज भएका छन् ।
मंगलवार मात्रै १ सय २१ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ३ लाख ५२ हजार ३ सय ७ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौं उपत्यकामा ४७६ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३३६, ललितपुरमा ९० र भक्तपुरमा ५० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलवार काठमाडौं उपत्यकामा ५३ जनामा संक्रमण देखिएको थियो ।
मंगलवार काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । केही दिनयता काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरूको संख्या बढेसँगै संक्रमितको संख्या बढेको हो । राजधानी दैनिकमा खबर छ ।