बागमती सरकारलेझै प्रदेश प्रहरीद्वारा मातहतका कार्यालयसंग कार्य सम्पादन सम्झौता
हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनामा प्रदेश प्रहरी स्तरिय कार्य संञ्चालन समिक्षा तथा आगामी कार्यनिती सम्बन्धी छलफल कार्यक्रम” समापन भएको छ । प्रदेश प्रहरी अन्तर्गतका प्रहरी कार्यालयहरुको कार्य संचालन सम्बन्धी जानकारी लिने, मातहत कार्यालयहरुको समस्या, चुनौतीका साथै अपेक्षाहरुको बारेमा जानकारी लिने र प्रदेश प्रहरी कार्यालयसंग मातहतका कार्यालय प्रमुख वीच कार्य सम्पादन करार गर्ने उद्देश्यले आयोजना गरीएको उक्त कार्यक्रम बिभिन्न चरणमा गरी सम्पन्न गरीएको हो ।
प्रदेश प्रहरी स्तरिय कार्य संञ्चालन समिक्षा तथा आगामी कार्यनिती कार्यक्रमको प्रमुख उद्देश्य भनेको प्रदेश प्रहरी प्रमुख र मातहतका कार्यालय प्रमुखहरु वीच कार्य सम्पादन करार गर्नु रहेको थियो । बागमती प्रदेश प्रहरी कार्यालयले तयार गरेको कार्य सम्पादन सम्झौतामा मातहतका कार्यालयहरुले मासिकरुपमा सम्पादन गर्नुपर्ने कार्यहरुको सुचक निर्धारण गरिएको छ ।
सुचकले निर्धारण गरेका बिषय अनुरुप कार्य सम्पादन गरी सार्वजनिक प्रशासन अन्तर्गत रहने प्रहरी प्रशासनको कार्यलाई स्तरीय, प्रभावकारी र कार्यको मुल्यांकन योग्य बनाउने, शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण र आन्तरीक व्यवस्थापनलाई सुदृढ, विश्वसनीय र व्यवसायीक बनाउने उद्देश्यले मातहातका कार्यालय प्रमुखहरुसंग कार्य सम्पादन करार गरीएको हो । नेपाल प्रहरीमा प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालय प्रमुखहरु बिच भएको यो कार्य सम्पादन सम्झौता पहिलो हो ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा र मातहतका कार्यालयका प्रमुखहरु वीच कार्य सम्पादन सम्झौता भएको छ । बागमती प्रदेश प्रहरी तालिम केन्द्र, बागमति प्रदेश प्रहरी दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रातोमाटेसंग कार्य सम्पादन सम्झौता भएको हो । प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयका विचमा यसअघिनै कार्यसम्पादन संझौता भएको छ । यो संगै बागमती प्रदेश प्रहरी कार्यालयसंग कार्य सम्पादन सम्झौता गर्ने कार्यालय १४ वटा रहेका छन । बागमती प्रदेश प्रहरी कार्यालयले कार्य सम्पादन सम्झौता गर्नु पर्ने कार्यालय पनि १४ वटानै रहेको छ ।
प्रहरीको कार्य सम्पादन सम्झौताको यस्ता छन् उद्देश्य
सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिवद्व, कानून कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण र पारदर्शी एवम् नतिजामा उत्तरदायी वनाउनका लागि करार संझौता गरिएको छ ।
तोकिएको कार्य समय, पदीय अधिकारको सीमा र सोपानसंग आवद्व गर्दै समग्रतामा जनता र संगठन प्रति जवाफदेही वनाउन, सुशासन कायम गर्न, प्रशासनमा नवप्रवर्तन र सिर्जनशीलता अभिवृद्वि गरी नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर वढाउन आन्तरिक क्षमता सुदृढ गर्न, जिम्मेवारी क्षेत्र भित्रको विद्यमान सुरक्षा चुनौतीहरुको बिश्लेषण गरी जनतालाई सुरक्षाको प्रत्याभुती दिन गुण्डागर्दी, तस्करी, ठगी, लागुऔषध ओसारपसार, मानव बेचबिखन लगायत अन्य अपराधहरुका साथै भ्रष्टाचारजन्य कृयाकलाप समेत हुन नदिन, स्पष्ट योजनाका साथ कार्य प्रारम्भ गर्दै मातहतका सवल दर्जाको मनोबल उठाउने, जनता र प्रहरी विचको सहकार्यलाई निरन्तरता दिन नागरिकहरुमा विश्वास र अपराधीहरुमा त्रास हुने अवस्था सिर्जना गर्ने उदेस्यका साथ संझौता गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआइजी बसन्तकुमार लामाले वताउनुभयो ।
प्रहरी कार्यालयहरुले मासिक रुपमा प्रत्येक महिनाको अन्तमा कार्यसम्पादन जाहेरी पठाउने छन र सो को आधारमा सम्बन्धित कार्यालय प्रमुखको कार्यसम्पादन स्तरको अभिलेख व्यावस्थापन हुनेछ । कार्यसम्पादन प्रगतिलाई कार्य सम्पादन मूल्याँकनसँग आवद्ध गरिने वताइएको छ । कार्य सम्पादनमा उल्लेखित सूचकहरु बमोजिम मातहत कार्यालयले सम्पादन गरेका कार्यहरु मासिक रुपमा र आर्थिक वर्ष समाप्त भएको ७ दिनभित्र कार्यसम्पादन सम्झौताको स्वमूल्याँकन प्रतिवेदन प्रदेश प्रहरी प्रमुख समक्ष वुझाउनु पर्ने नियम वनाइएको छ ।